काठमाडौं, २५ कात्तिक । सामाजिक अभियन्ता युवराज पौडेल‘सफल’ ले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहेको ठोकुवा गरेका छन् । भुटानी शरणार्थीहरुको समस्या उजागर गर्नका लागि रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बरु आफू गोली खान पनि तयार रहेको तर ओली नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार हुन् भन्ने आरोप फिर्ता लिन नचाहेको बताए ।
‘नक्कली भुटानी शरणार्थीको मुख्य योजनाकार केपी ओली भएको कुरा म सार्वजनिक गर्न चाहन्छु । म मर्नुपर्छ भने मर्न तयार छु । कसको गोली खानुपर्छ खान तयार छु, तर म यो कुराबाट ब्याक हुने छैन,’– उनले भने ।
साथै, तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलिएको र त्यसबेला ओलीले दिनकै दुईपटकसम्म बालुवाटार पुगेर कुरा मिलाएको उनले दाबी गरे । ‘प्रचण्ड प्रधानमन्त्री थिए । नक्कली भुटानी शरणार्थीको फाइल खोल्न लाग्दाखेरी उनी (ओली) दुईचोटी बालुवाटार जान्थे । उनले यो सबै शरणार्थीको कुरा मिलाउने त मै हो, मान्छे नै मैले लगेको भने,’– सफलले भने ।
ओलीकी श्रीमती राधिका शाक्यले नक्कली भुटानी शरणार्थी प्रकरणवापतको पैसा बुझेको उनको आरोप छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ कांग्रेसमा बालकृष्ण खाण र एमालेमा टोपबहादुर रायमाझीभन्दा माथि जान नसकेको उनले टिप्पणी गरे । रामबहादुर थापा ‘बादल’, केपी ओली, राधिका शाक्य, आरजु राणा, मञ्जु खाणलगायतलाई कारबाही नै नभएको भन्दै उनले आपत्ति जनाए ।
‘मैले केपी ओली, आरजु राणा, शेरबहादुर देउवा, मञ्जु खाणलाई पक्राउ गर्न भनेर निवेदन दिएको थिएँ । नारायणकाजीले बालकृष्ण खान र एमालेको टोपबहादुर भन्दा माथि गएनन्,’– उनले भने ।




प्रतिक्रिया