स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड


पाटन (ललितपुर) , २५ कातिक । स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम र बजेट तर्जुमामा हुने दोहोरोपना हटाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जनस्वास्थ्य कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ मा सम्पादित कामहरुको समीक्षा एवम् योजना तर्जुमा गोष्ठीमा सहभागी अधिकांशले दोहोरोपनको समाधान गर्दै प्रविधिमैत्री सेवा र नागरिकलाई सहज सेवाका लागि तालिम प्राप्त जनशक्ति आवश्यक रहेकामा जोड दिएका हुन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले स्वास्थ्यसम्बन्धी योजना र कार्यक्रमहरु तय गर्दा स्थानीयको आवश्यकताअनुसार तर्जुमा गर्नुपर्नेमा जोड दिए । “स्वास्थ्य र शिक्षालाई एकद्वार प्रणालीमार्फत सेवा दिने व्यवस्था हुनुपर्ने हो, अझै पनि धेरै नागरिकहरुले प्रभावकारी स्वास्थ सेवा पाउन सकेका छैनन्, यसमा ध्यान दिनुपर्छ,” उनले भने ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले तीन तहको स्वास्थ्य सेवामा अलमल भइरहेको बताइन् । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका महाशाखा प्रमुख डाक्टर खगेश्वर गेलालले बागमती प्रदेशले चार अर्ब ९० करोड स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी गराउँदै विश्व स्वास्थ्य सङ्गठनले निर्दिष्ट गरेको मापदण्डअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कुल वार्षिक बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने बताए ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा अर्जुन सापकोटाले स्वास्थ्य संस्थामा दुई बर्ष सेवा दिन सक्ने कर्मचारीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले नागरिकलाई केन्द्रविन्दुमा राखेर प्रभावकारी सेवा सञ्चालन गरिएको उल्लेख गरे । जिल्ला जनस्वास्थ्य कार्यालयले गत आव २०८१/८२ मा सञ्चालन गरेको कार्यक्रमहरुमा ७८ दशमलव ८ प्रतिशत आर्थिक प्रगति र ९६ प्रतिशत भौतिक प्रगति रहेको जानकारी गराउँदै आन्तरिक लेखा परीक्षणमा बेरुजु शून्य रहेको उनले जानकारी गराए । रासस