जसका लागि चुनाव आवश्यक छ, उनीहरूले वातावरण बनाउन भूमिका खेल्नुपर्छः मन्त्री सिन्हा


काठमाडौँ, २५ कात्तिक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य पक्ष राजनीतिक दल भएकाले चुनावको वातावरण बनाउन उनीहरूको उत्तिकै भूमिका रहने बताएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित ‘आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर’ विषयक अन्तक्र्रियामा उनले सरकार, राजनीतिक दल र अन्य सरोकारवाला पक्षबीचको घनिभूत छलफल र बहसले चुनावी वातावरण बनाउने धारणा व्यक्त गरे ।

‘जसका लागि चुनाव आवश्यक छ, उनीहरूले पनि वातावरण बनाउन भूमिका खेल्नुपर्छ । निर्वाचन गराउने सन्दर्भमा सबैले राम्रो नियत राखौँ, निकास दिऔँ,’– उनले भने ।

सरकारले आगामी निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दल र नेतासँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै उनले राज्य सञ्चालनको अनुभवका कारण कतिपय सन्दर्भमा केही कमीकमजोरी भए पनि वर्तमान सङ्कटबाट मुलुकलाई निकास दिलाउन भरमग्दुर प्रयास गरिरहेको स्पष्ट पारे ।

मन्त्री सिन्हाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिलाउनेसम्बन्धी प्रक्रिया र तयारीको अवस्था शून्य रहेको त्यसको सम्भावना पहिचान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘युवापुस्ताले अवसरको खोजी गरिरहेको छ, उनीहरूको भावनालाई सम्बोधन गर्न सरकार क्रियाशील छ, सङ्कटको निकास दिन जिम्मेवारीका काम भइरहेको छ, यसमा शङ्का गर्नुपर्दैन ।’