मतदाता नामावली संकलनप्रति प्रधानमन्त्रीको चासो, आयोगमा पत्र, फेसबुकबाट स्मरण


काठमाडौं, कार्तिक २६ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनको अवस्थाप्रति चासो ब्यक्त गरेकी छन् । नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम दर्ता गराएर आगामी निर्वाचनमा मताधिकार प्रयोग गर्न आह्वान गर्दै उनले नामावलीमा नाम दर्ता गराउन अब चार दिनमात्र बाँकी रहेको स्मरण गराएकी छन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएको छ । त्यसका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न यही कात्तिक ३० गतेसम्मको समय तोकिएको छ । मतदाता नामावली दर्ता गर्ने अन्तिम मिति नजिंकिंदा देशभरका दर्ता केन्द्रमा भीड बढेपछि सरकारले दर्ता प्रक्रिया सहज बनाउन र कार्यसमय पनि बढाउन निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।

आयोगलाई मतदाता नामावली संकलनको म्याद पुनरवलोकन गर्न आग्रह गर्दै प्रधानमन्त्री कार्यालयले लेखेको पत्रमा मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेको तथ्यांकलाई मतदाता नामावली दर्ताका लागि प्रयोग गर्न मिल्ने गरी आवश्यक प्राविधिक एवम् कानुनी प्रक्रिया अगाडि बढाउन उल्लेख गरिएको छ ।