काठमाडौं, २६ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूलाई जेन–जी आन्दोलनको क्रममा नेपाली सेनाले सुरक्षित गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आन्दोलनकारीहरुले आफू, आफ्नी श्रीमती र छोरालाई प्रदर्शनकारीहरुले जिउँदै जलाउने प्रयास गरिरहेको अवस्थामा सेनाले आएर उद्दार गरेको बताएका हुन् ।
गत भदौ २४ गतेको जेन–जी प्रदर्शन स्मरण गर्दै नेता खनालले भने, ‘नेपाली सेना नआएको भए मलाई, मेरो श्रीमतीलाई, मेरो छोरालाई चाहिँ त्यही जिउँदै जलाउने थिए उनीहरुले । त्यो घटनाक्रम हेर्दाखेरी जिउँदै जलाउने थिए । तिनीहरु यो देशका शत्रु हुन् । धेरैजसो त नेपालीअनुहारका छन् । तिनीहरु जोसुकै हुन्, ती मानव होइनन्, दानवजस्तो भावनामा भएका मान्छेहरु हुन् । जल्लाद मनोवृत्तिमा रुपान्तरित भएका मान्छेहरु हुन् ।’
नेता खनालले आफ्नो घर जलाउन आउने र लुटपाट गर्ने सबैको भिडिओ प्रमाण रहेको बताए । ती प्रमाणहरु राज्यले रोजेको अवस्थामा आफूले दिने पनि उनले बताए । ‘मैले सबै भिडिओहरु संकलन गरिसकेँ । ती मान्छेहरु कतिबेला प्रवेश गरे, क–कसले ढुङ्गा हाने, कसले कस्ता हतियार लिएर आए सबै मान्छेहरुको फोटोसहित मसँग छ । ती मान्छेहरुले कसैले कपडा, कसैले किताब, भाँडा लिएर गएका छन् । ती लुटपाटकर्ताहरुको फोटोसहित छ मसँग । म राज्यलाई औपचारिक रुपले भन्छु,’– उनले भने ।
जेन–जी आन्दोलनको क्रममा जलनमा परेर घाइते भएकी आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारको भारतको एपोलो अस्पतालमा उपचार भइरहेको पनि नेता खनालले बताए । नेता खनालका अनुसार रविलक्ष्मीको देब्रे हात भने कीर्तिपुरस्थिति बर्न हस्तालमा नै काटिएको थियो । उनको देब्रे हातको जलन चौथो डिग्रीमा पुगिसकेको अवस्थामा अन्य शरीर जोगाउनका लागि हात काट्नु परेको नेता खनालले बताए । रविलक्ष्मीको स्वास्थ्यमा सुधार आइरहेको र अहिले बोल्न पनि थालेको नेता खनालले बताए । नेता खनालले डाक्टरको सल्लाहअनुसार अझै एक महिना उपचारमा बस्नुपर्ने अवस्था रहेको पनि बताए ।
‘जलनको पहिलो, दोस्रो, तेस्रो, चौथो डिग्री भन्ने हुँदोरहेछ । देब्रे हात चाहिँ चौथाृे डिग्रीसम्म जलिसकेको थियो । त्यसलाई काटेर नफालेसम्म अरु शरीर जोगाउन सकिने स्थिति बनेन । त्यही कारणले कीर्तिपुरको अस्पतालले उहाँलाई त्यो गर्यो । दाइने हात पनि जलेको हो । पहिलो डिग्रीमा मात्रै रहेछ । यहाँसम्म आइपुग्दा ठीकै हुन्छ जस्तो लाग्छ,’– उनले भने ।




प्रतिक्रिया