काठमाडौं, २६ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारको आर्थिक सहयोगबाट उपचार गराइरहेको बताएकाा छन् । जेन–जी आन्दोलनको क्रममा रविलक्ष्मी जलनमा परेकी थिईन् । अहिले उनको भारतस्थिति एपोलो अस्पतालमा उपचार भइरहेको छ । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै पूर्व प्रधानमन्त्री खनालले रविलक्ष्मीको उपचारका लागि माधव नेपालले ५ लाख, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३ लाख र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३० लाख बराबरको सहयोग गरेको बताएका हुन् ।
‘यहाँबाट एपोलोमा नलगी उनको उपचारलाई जारी राख्न नसक्ने स्थिति बन्यो । सबै प्रकारले हेर्दाखेरी मैले लानुपर्छ भन्ने ठाउँमा पुगेँ । तर, मसँग केही पनि छैन, मैले लगाएको एउटा ट्राउजर र भेस्टबाहेक केही पनि छैन । के गरी लाने ? मैले यसो साथीभाइहरुसँग हेरेँ । तर, हिजोको कम्युनिष्ट पार्टी त रहेन छ अहिले । माधव कमरेडलाई मैले भने, माधव कमरेडले ५ लाख दिनुभयो । प्रचण्ड कमरेडलाई भने, उहाँले ३ लाख दिनुभयो । यहाँबाट मैले एयर एम्बुलेन्समा लानुपर्ने रहेछ । एयर एम्बुलेन्सलाई कम्तिमा ३० लाख लाग्दोरहेछ । म विचराले कहाँबाट लाने । रातभरी म सुतिनँ । भोलिपल्ट विहान केपी ओलीको फोन आयो । मेडमको स्थिति सोध्नुभयो, मैले यथार्थ बताएँ । मैले साथीहरुलाई भनेर एयर एम्बुलेन्सको बन्दोबस्त म मिलाइदिन्छु भन्नुभयो । मलाई त बेग्लैखालको साहरा मिलेजस्तो भयो । पछि मेरो छोरालाई पठाएँ, भेट्यो, कुराकानी गर्यो । पछि श्री एयरलाइन्समा लिएर गएँ । मलाई क्यास दिएको होइन, ३० लाख बराबरको खर्च लाग्थ्यो,’– उनले भने ।
नेता खनालका अनुसार रविलक्ष्मीको देब्रे हात भने कीर्तिपुरस्थिति बर्न हस्तालमा नै काटिएको थियो । उनको देब्रे हातको जलन चौथो डिग्रीमा पुगिसकेको अवस्थामा अन्य शरीर जोगाउनका लागि हात काट्नु परेको नेता खनालले बताए । रविलक्ष्मीको स्वास्थ्यमा सुधार आइरहेको र अहिले बोल्न पनि थालेको नेता खनालले बताए । नेता खनालले डाक्टरको सल्लाहअनुसार अझै एक महिना उपचारमा बस्नुपर्ने अवस्था रहेको पनि बताए ।
‘जलनको पहिलो, दोस्रो, तेस्रो, चौथो डिग्री भन्ने हुँदोरहेछ । देब्रे हात चाहिँ चौथाृे डिग्रीसम्म जलिसकेको थियो । त्यसलाई काटेर नफालेसम्म अरु शरीर जोगाउन सकिने स्थिति बनेन । त्यही कारणले कीर्तिपुरको अस्पतालले उहाँलाई त्यो गर्यो । दाइने हात पनि जलेको हो । पहिलो डिग्रीमा मात्रै रहेछ । यहाँसम्म आइपुग्दा ठीकै हुन्छ जस्तो लाग्छ,’– उनले भने ।




प्रतिक्रिया