काठमाडौं, २६ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं बागमती प्रदेशसभा सदस्य युवराज दुलालले तत्कालीन सरकारले सिर्जना गरेको वातावरणको कारणले जेन–जी आन्दोलन भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनको उद्देश्य राजनीतिक रुपमा आन्दोलन गरेर सत्ता पल्टाउने नरहेको बताएका हुन् ।
तत्कालीन सरकारले सिर्जना गरेको वातावरण, देशमा मौलाएको चरम भ्रष्टाचार, विकृति, विसंगति र कुशासनको कारणले जनतामा पैदा भएको आक्रोश, सामाजिक सञ्जालमाथि भएको प्रतिबन्ध नै जेन–जी आन्दोलनको मूल कारण रहेको उनले बताए । जेन–जी पुस्ताले सामाजिक सञ्जाल खुल्नुपर्छ र सुशासन कायम हुनुपर्छ भन्ने नारा लिएर आन्दोलनमा उत्रिए पनि त्यसको परिणाम भने फरक आएको उनले बताए ।
जेन–जी आन्दोलनपछि विघटित प्रतिनिधिसभा असंवैधानिक रहेको उनले बताए । असंवैधानिक हुँदा हुँदै पनि आन्दोलनको आँखाबाट त्यसलाई हेरेर अब निर्वाचनमा जानुको विकल्प नरहेको उनले बताए । नेता दुलालले जेन–जी आन्दोले दलहरुको शक्तिलाई शून्यतामा पुर्याएको बताए ।
‘प्रतिनिधिसभाको विघटन संविधानमा लेखिएअनुसार भएको होइन । संविधानको आँखाबाट हेर्दाखेरी प्रतिनिधिसभा विघटन गैरसंवैधानिक हो । आन्दोलनको आँखाबाट हेर्दाखेरी नेपालमा एउटा आन्दोलन भएकै हो । त्यो आन्दोलनले राजीनिक दलहरुलाई शक्ति शुन्यतामा पुर्याएकै हो,’– उनले भने ।
दलहरुको शक्ति शून्यताको अवस्थामा र संविधान बचाउनुपर्छ भन्ने पक्षबीच वीन–वीनको परिस्थितिमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको उनले बताए । चुनाव गराउने शर्तमा त्यो सरकार बनेको भन्दै उनले अब निर्वाचनमा जानुको विकल्प नरहेको दाबी गरे । अब ताजा जनादेश ल्याएर दलहरुले सरकार सञ्चालन गर्नुपर्ने बताए । एमाले–कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनाको कुरा पनि राखेको प्रसंग उल्लेख गर्दै उनले प्रतिनिधिसभाको पुनर्स्थापनाबाट अहिलेको समस्याको समाधान नहुने दाबी गरे ।
उनले अहिलेको प्रतिनिधिसभा पुनर्स्थापना गरेर सरकार बनाएर समस्याको समाधान गर्छौं भन्ने कुरा देशभित्र अस्थिरता निम्त्याउने र अन्यौलता अझै बढ्ने अवस्था आउने बताए । नेता दुलालले सरकारले चुनाव गराउन सक्छ भन्दा पनि चुनाव गराउन सक्नुपर्ने बताए । उनले सरकारले सबै दलसँग सरकारले समदुरीमा सम्बन्ध राखेर चुनावको वातावरण बनाउनुपर्ने बताए । चुनाव नै अहिलेको उत्तम निकास रहेको उनकाे भनाइ छ ।
उनले नेपालको समाज र सिस्टम नै भ्रष्ट रहेको बताए । अब भ्रष्टाचारको विरुद्धमा सबै दल निर्मम हुनेमा सबै दलहरु सहमत हुनुपर्ने बताए । उनले नेपालको परराष्ट्र नीति पनि सबै दलको एकै हुनुपर्ने, नेपालको परराष्ट्र नीति नै दलको परराष्ट्र नीति हुनुपर्ने बताए । राष्ट्रियताको सवालमा एकै एजेण्डा बनाएर लोकतन्त्रलाई बलियो बनाउनेतर्फ जानुपर्ने उनले बताए ।
नेपालको निर्वाचन प्रणालीमा पनि दोष रहेको उनले बताए । निर्वाचन प्रणाली एकदमै खर्चिलो रहेको र असल राजनीतिज्ञहरुले जित्ने कुरा एकदमै गाह्रो रहेको उनको भनाइ छ । साम, दाम, दण्ड, भेद प्रदर्शन गर्न सक्नेले चुनाव जितेर आउने अवस्थालाई सुधार्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक सांसद र विज्ञबाट मन्त्रीहरु नियुक्तिको प्रणालीमा गएको खण्डमा सुधार हुनुपर्ने उनले बताए ।




प्रतिक्रिया