काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । महाधिवेशनबारे विवाद चर्किएपछि सहमति खोज्नका लागि शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे ललितपुरको धोबीघाटस्थित एक होटलमा बस्ने बताइएको छ ।
कांग्रेसमा अहिले महाधिवेशन आसन्न फागुन २१ गतेको चुनावपछि गर्ने कि चुनाव अघि भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष चुनावपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ भने इत्तर समूह जसरी पनि पुसको दोस्रो सातासम्म महाधिवशेन गर्नुपर्ने पक्षमा छन् ।
महाधिवेशनबारे निर्णय लिन कांग्रेस केन्द्रीय समिति बैठक करिब एक महिनादेखि जारी रहेको छ । केन्द्रीय समितिले पनि महाधिवेशनबारे निर्णय लिन सकिराखेको छैन । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने नियमित महाधिवेशन सम्भव नभएको खण्डमा विशेष महाधिवेशनको पक्षमा छन् ।
कांग्रेस संस्थापन इत्तर समूहका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन् । विधानअनुसार बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाइसकेपछि विशेष महाधिवेशनमा जानुपर्ने हुन्छ ।




प्रतिक्रिया