काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका समस्या समाधानका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर नेविसंघको टोलीले आयोगको ध्यानाकर्षण गराएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचनको तयारी स्वरूप देशभर सञ्चालन भइरहेको मतदाता नामावली दर्ता अभियानका क्रममा प्राविधिक तथा पहुँचसम्बन्धी कठिनाइहरू देखिएको छ ।
‘देशका विभिन्न स्थानहरूबाट प्राप्त सूचनाअनुसार, मतदाता नामावलीमा दर्ता हुन इच्छुक नागरिकहरू अनलाइन प्रणालीमा देखिएका त्रुटि तथा सीमित पहुँचका कारण दर्ता हुनबाट वञ्चित भइरहेका छन् । यसले सर्वसाधारण नागरिकको मताधिकार प्रयोगमा अवरोध सिर्जना र निर्वाचनमा नागरिक सहभागितालाई प्रतिकूल रूपमा प्रभावित गर्ने जोखिम बढाएको छ,’– ध्यानाकर्षण पत्रमा भनिएको छ ।
सर्वसाधारण नागरिकलाई सहज र समान पहुँचका साथ मतदाता नामावलीमा दर्ता हुने अधिकार सुनिश्चित गर्नु संवैधानिक र लोकतान्त्रिक दायित्व रहेको स्मरण गराउँदै नेविसंघले अनलाइन दर्ता प्रणालीमा देखिएका प्राविधिक समस्या तुरुन्त समाधान गर्न माग गरेको छ । तत्काल उक्त समस्या समाधान गरी सबै नागरिकले सहज रूपमा अनलाइनबाट मतदाता दर्ता गर्न सक्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
त्यसैगरी, मतदाता नामावली दर्ता सेवा पालिकासम्म विस्तार गर्न माग गरिएको छ । गाउँ, बस्ती तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई यात्रा, खर्च, र समयजन्य कठिनाइका कारण दर्ता प्रक्रियामा सहभागी हुन असजिलो भएको नेविसंघको भनाइ छ । ‘मतदाता नामावली दर्ता सेवा सबै पालिकाको कार्यालयहरू वा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० कार्यालयहरूमा शीघ्र सञ्चालन गर्न व्यवस्था गरियोस्, ताकि हरेक नागरिकले आफ्नै स्थानीय क्षेत्रबाट सहज रूपमा दर्ता गर्न सकून् र निर्वाचनमा सहभागिता जनाउन पाओस्,’– ध्यानाकर्षण पत्रमा भनिएको छ ।




प्रतिक्रिया