सिंगापुरबाट फर्किएका देउवाले किन भेटेनन् गगन थापालाई ?


काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिर्णयको बन्दी बनेको छ । महिनौंसम्म बैठक चल्ने र रोकिने, अनि फेरि बस्ने क्रम चलिरहेको छ । शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई दिएर आफू सिंगापुर उपचारमा गएका थिए ।

तर, उनी १८ दिन लामो सिंगापुर बसाई सकेर गत कार्तिक २८ गते स्वदेश फर्किएका छन् । देउवाले काठमाडौं ओर्लिएकै दिनदेखि आफ्नो सक्रियता बढाएका छन् । उनले आफू पक्षधर नेताहरुसँग १५औं महाधिवेशनकेन्द्रित छलफल गरिरहेका छन् । तर, २१ फागुनको चुनावअघि नै १५औं महाधिवेशन गरिनुपर्ने माग उठाउने महामन्त्री गगनकुमार थापासँग भने कुनै छलफल नगरेको बताईन्छ ।

हिजो गगनले शेखर कोइरालासँग छुट्टै छलफल गरे । गगन र शेखरबीचको छलफलमा अर्का महामन्त्री विश्वप्रकाश शर्मापनि सहभागी थिए । उनीहरुले चुनावअघि नै महाधिवेशन गरेर जानुपर्ने मत राखेका छन् । देउवा पक्षधर कुनैपनि हालतमा चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा छन् । केन्द्रीय समितिको बैठक भोलि बस्ने तय भएको छ ।

महामन्त्री थापाले देउवासँग भेट्न चाहेपनि पाँच दिन बितिसक्दापनि भेट हुन नसकेको बताईन्छ । महामन्त्री थापाले विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान चलाएपछि देउवा थापासँग बिच्किएको कांग्रेस नेताहरुको भनाई छ । जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरुको सांघातिक हमलामा परेका देउवा दम्पत्तिप्रति सहानुभूति नराखिएको भन्ने संस्थापन पक्षधर नेताहरुको गुनासो छ । file photo