संवैधानिक सङ्कट टार्न निर्वाचन विकल्प होइन : शंकर पोखरेल


काठमाडौं, मंसिर १० । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा पुनःस्थापना नै लोकतन्त्रलाई सही बाटोमा फर्काउने उपाय भएको बताएका छन । गत भदौ २३ र २४ गतेको विध्वंसात्मक घटनाले संविधानलाई गम्भीर चोट पुगेको बताउदै उनले संवैधानिक सङ्कटको घडीमा देशलाई बचाउन निर्वाचन विकल्प नहुने दाबी गरेका छन् ।

एमालेले बुधबार गरेको दल दर्ताले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको सुनिश्चितता नगर्ने उनको भनाई छ ।
‘वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरेर गरेको कदम असंवैधानिक रहेको र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको उल्लेख गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामामा दल दर्ताको आधारमा आगामी फागुन २१ गतेको निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण छ।’

उनले लेखेका छन्, नेकपा (एमाले) लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा आत्मसात गर्ने पार्टी भएको नाताले निर्वाचन आयोगमा अद्यावधिक रूपमा दल दर्तागर्दै आएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटी १०औं बैठकको निर्णयअनुसार भएको हो।

अहिलेको सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट छ, र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो ।

यथार्थतामा वर्तमान सरकार न निर्वाचनतर्फ अग्रसर छ, न त निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत देखिएको छ। बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिन्छन् ।

यस्तो अवस्थामा, २३ र २४ गतेको विध्वंसात्मक घटनाका कारणले घाइते बनेको संविधानलाई पुनः क्रियाशील बनाउन, नवयुवा(जेन्जी)हरुको भावनाको सम्वोधन गर्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनस्थापना अपरिहार्य भएको छ।

एमालेले यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको भए पनि प्रतिनिधि सभातर्फ भने दर्ता गरेको थिएन।