अहिले अदालतमात्रै जलेको छ, भोलि मान्छे जलाउने दिन आउन सक्छः कांग्रेस नेता शर्मा


काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले न्यायाधीशहरुले मुद्दाको आफू अनुकूल व्याख्या गरेको खण्डमा भोलि न्यायलयभित्र छिरेर मान्छे जलाउने दिन आउने चेतावनी दिएका छन् । आज (बुधबार) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिलेसम्म त न्यायलयमात्रै जलेको र न्याय सम्पादन सही ढंगले नभएको खण्डमा भोलि अदालतभित्र छिरेर मान्छे जलाउने दिन आउन सक्ने बताएका हुन् ।

‘अहिलेसम्म त न्यायलयमा मात्रै आगो लागेको छ । यदि न्याय सम्पादन सही ढंगले भएन भने, आफ्नो अनुकूलतामा मुद्दाको ब्याख्या गरियो भने अहिलेसम्म न्यायलयमात्रै जलेको छ । माफ पाउँ श्रीमान भोलि न्यायलयभित्र छिरेर मान्छे जलाउने दिन आउन सक्छ,’– उनले भने ।

उनले समान प्रकृतिका मुद्दामा स्वयम्भुको आँखाले हेर्न सुझाव दिए । नेकपा (एमाले) का कार्यकर्ता र माओवादीका कार्यकर्तालाई आम छुट दिने र एउटा मान्छेमाथि मात्रै हुर्मत लिने व्यबहार गरिएको उनले बताए ।