काठमाडौं, १२ मंसिर । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले जेन–जी आन्दोलनकारीहरुको माग निर्वाचनले पूरा गर्ने नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी फागुन २१ गत तय भएको निर्वाचनले वर्तमान समस्याको समाधान दिन नसक्ने उनको भनाइ छ । साथै, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको कारणले पनि चुनावको वातावरण बिथोलिँदै गएको उनको भनाइ छ ।
निर्वाचनमा जानका लागि सरकार, दलहरु र आन्दोलनकारीहरु तयार हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री सुशीला कार्की र जेन–जी युवाहरुको सम्बन्ध पनि पछिल्लो समय चिसिँदै गएको उनले बताए । अहिलेको सरकार आन्दोलन र विद्रोहबाट जन्मिएको र जसले सरकार बनाएको हो, त्यो संविधानमा रहेर पूरा गर्न नसकिने अवस्था रहेको उनले बताए । अहिले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल समस्यामा जेलिएको देखेको उनले बताए । साथै, जेन–जी आन्दोलनको साइकल पूरा नभएको पनि उनको टिप्पणी छ ।
वर्तमान सरकारलाई चुनावको मात्रै म्याण्डेट रहेको, तर विद्रोहले मागेको चुनाव मात्रै नरहेको उनले बताए । भ्रष्टाचारको छानविन, सजाय, अवसरको विकासलगायतका माग रहेकोमा सरकार ती कामतर्फ अगाडि बढ्नै नसकेको उनले बताए । निर्वाचन हुँदा राजनीतिक नेतृत्व परिवर्तन भए पनि सिस्टम भने चाहिँ त्यही नै रहिरहने उनको भनाइ छ ।




प्रतिक्रिया