आन्दोलन गर्न पैसा नदिएपछि पूर्व राजा ज्ञानेन्द्र र राजावादीसँग रिसाए प्रसाईं, चिया बगानमा घाम तापेर राजसंस्था नफर्किने टिप्पणी


काठमाडौं, १३ मंसिर । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राजसंस्था पुनर्वाहाली गर्ने हो भने सडकमा आउन राजावादीहरुलाई सुझाव दिएका छन् । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले चिया बगानमा घाम तापेर बसेर राजसंस्था नफर्किने टिप्पणी गरे । पृथ्वीनारायण शाह हातमा खुकुरी लिएर निस्किएको कारण नै राजा भएको उनले स्मरण गराए । राजाको तर्फबाट कुनै विज्ञप्ति पनि नआएको, राजावादीहरुले जनमत संग्रहबाट राजसंस्था आउँदैन भन्दै हिँडेको बताउँदै उनले त्यसो भन्नेलाई राजालाई डोकामा बोकेर राजगद्दिमा राखिदिन सुझाव दिए ।

‘राजा गएर घाम तापेर बस्ने चिया बगानमा, राजाका मान्छे चार जना बाटोमा उफ्रिने । राजाको एउटा विज्ञप्ति पनि आउँदैन । हिजो पृथ्वीनारायण शाह पनि हातमा खुकुरी लिएर निस्किएर पो राजा भएका हुन् त । राजाको पनि केही न केही त हुनुपर्यो नि त ? जोड हुनुपर्यो,घटाउ हुनुपर्यो । बल हुनुपर्यो । राजाका मान्छेहरु के भन्छन् भने– जनमत संग्रह गर्ने होइन, राजा भनेको त्यसरी ल्याउने होइन । त्यो भन्ने मान्छेले डोकामा बोकेर ल्याएर राख्नु । कसैले रोक्दिएको छैन । होइन भने जनमत संग्रहमा जाउँ,’– उनले भने ।

होइन भने राजसंस्था फर्काउनका लागि आफूलाई दुई तिहाइ मत दिन उनले आग्रह गरे । उनले आफूलाई दुई तिहाइ मत दिएको खण्डमा सदनबाट ताली बजाएर राजसंस्था फर्काउने बताए । उनले फेसबुका लेखेर र एक रुपैयाँ पैसा ननिकालेर राजा नफर्किने टिप्पणी गरे । ‘कि दुई तिहाइ भोट पुर्याओ, राजसंस्था ल्याइदिन्छ । ताली बजाएर ल्याइदिन्छ सदनबाट । होइन भने बाटोमा सबै निस्क न । बाटोमा कोही पनि ननिस्किने, फेसबुकमा लेख्ने । दुई पैसा कोही ननिकाल्ने । राजसंस्था ल्याउनका लागि लडेकै हो त दुर्गा प्रसाई । अन्तिम विकल्प भनेको जनमत संग्रह हो । मेरो कुरा त्यो हो,’– उनले भने ।

उनले एक राजावादीले आन्दोलनको लागि दुई लाख माग्दा पनि नदिएको सुनाए । ‘एक जना बाबैले अब दुर्गे पनि लुसिफर भए भन्थे । बा आन्दोलनलाई दुई लाख ल्याउनु न भनेको, छैन रे । तपाईँको छोराछोरी कहाँ छन् भनेको ? अमेरिका रे । आफ्ना छोराछोरी अमेरिकामा राख्ने अनि मैले आफ्ना छोराछोरी दाउमा राखिदिनुपर्ने ?’ प्रश्न गर्दै उनले भने ।