सरकारले आयोगलाई मागेजति पैसा दिएन, होला त स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन ?


काठमाडौं, १५ मंसिर । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सरकारले आफूहरुले अपेक्षा गरेअनुसारको निर्वाचन खर्च उपलब्ध नगराएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आयोगले अपेक्षा गरेभन्दा केही कम करिब ५ अर्ब रुपैयाँ खर्च प्राप्त भएको बताए । उनले यो पटक मितव्ययी तरिकाले निर्वाचन सम्पन्न गर्ने कुरामा आयोग प्रतिवद्ध रहेको र सरकारले पनि मितव्ययी निर्वाचन गर्ने नीति लिएको उनले बताए । कम स्रोत साधनमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने कुरामा सरकार र आयोगको कुरा साझा रहेको उनले बताए ।

‘निर्वाचन आयोगले सुरुमा जुन अपेक्षा गरेर प्रस्ताव गरिएको थियो, त्यो भन्दा केही कम प्राप्त भएको छ । करिब ५ अर्ब प्राप्त भएको छ । त्यसमा हामीले जनशक्ति खटाउँदा, सामाग्री किन्दाखेरी आवश्यक पैसा जति लाग्छ, त्यतिमात्रै खर्च गर्ने र यो पटक मितव्ययी रुपमा निर्वाचन सम्पन्न गर्न आयोग पनि प्रतिवद्ध छ । सरकारले पनि मितव्ययी निर्वाचन गर्ने नीति लिएको छ । कम स्रोत साधनमा निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन गर्ने कुरामा नेपाल सरकार र निर्वाचन आयोगको कुरा साझा छ,’– उनले भने ।

नपुग रकम पछि पनि माग्न सकिने उनले बताए । स्रोतकै कारणले निर्वाचन प्रभावित हुन्छ भन्ने कुराले आयोगले नसोचेको उनले बताए । आयोगलाई सरकारले आवश्यक रकम उपलब्ध गराउँछ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको उनले बताए । स्रोत, साधन र जनशक्तिको विषयमा सबै हिसाबले योजना बनिसकेको उनले बताए । आयोगले अहिले समस्या महशुस नगरेको र राम्रोसँग निर्वाचन सम्पन्न हुने उनले बताए ।

प्रवक्ता भट्टराईले यस पटकको निर्वाचनमा कुनै विद्युतीय उपकरणको प्रयोग नहुने र ब्यालेट बक्स सिस्टमबाटै निर्वाचन हुने बताए । यो पटक ई–भोटिङमा जानेगरी कुनै पनि तयारी नभएको उनले बताए । उनले यस निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता हुने अपेक्षा गर्न सकिने बताए ।