काठमाडौं, १५ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको आत्मसम्मान र स्वाधीताका निम्ति वामपन्थीहरु एक हुनुपर्ने बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उनले मुलुक अहिले सङ्कटमा रहेको र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न नेपाली सेना र नेपाल प्रहरीले मात्र गर्न नसक्ने भन्दै सम्राज्यवादलाई परास्त गर्न सबै नेपाली फौजी जस्तो बन्नुपर्ने धारणा राखे ।
संयोजक दाहालले संस्थालाई जोगाउन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूहरुले पनि सहमति दिएको बताए । उनले आफूहरुलाई सच्चिनका लागि जेन–जी आन्दोलनले सचेत बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा दलहरुले एकता र विभाजनको पीडा भोगिसकेको स्मरण गराए । जेन–जी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न १६ वटा कम्युनिष्ट पार्टीहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको उनको भनाइ थियो । उनले सरकारले तोकिएकै समयमा निष्पक्ष, धाधलीरहित, स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण तयार गर्नुपर्ने सुझाव दिए ।




प्रतिक्रिया