काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको कार्यतालिकाअनुसार १५औं महाधिवेशन गर्ने कुरा सहज नभएको बताएका छन् । पत्रकार ऋषि धमलाले सोधेको ‘अब एक महिना १० दिनमा कांग्रेसको महाधिवेशन कति सम्भव छ ?’ भनेर नेपाली रेडियो नेटवर्कको लागि चर्चित कार्यक्रम नेपाली बहसको लागि सोधेको प्रश्नमा उनले भने,‘गार्हो छ, त्यही पनि सहमतिको साथ निर्णयमा जानुपर्छ भन्ने सभापतिको पनि कुरा रह्यो, त्यसअर्थमा यो पुषभित्रै महाधिवेशन गर्ने भनिएको छ, यो त्यति सहज छैन । सम्पूर्ण विधि, प्रक्रिया पूराएर अधिवेशन गर्न मेहनत गर्नुपर्छ ।’
अहिले सम्पूर्ण पार्टी पँक्तिलाई एकताबद्ध बनाएर निर्वाचनमा होमिने बेला भएको कुरा पार्टीको केन्द्रीय समितिको बैठकमा नेताहरुले भनाई राखेको उनको भनाई छ । यही विषयमा लिएर बैठकमा लामो छलफल भएको र लम्बिएको उनले स्पष्ट पारे । तर, केही पदाधिकारी साथीहरुको कारण निर्वाचनअघि नै महाधिवेशन गरिनुपर्ने भनेर अडान लिएको कारण र सभापति शेरबहादुर देउवाले पनि एकताबद्ध भएर सर्वसम्मत् रुपमा निर्णय गरौं भनेकोले यो कार्यतालिका आएको उनको दाबी छ ।
सम्पूर्ण विधि र प्रक्रिया पूर्याएर अधिवेशन गर्ने कुरामा समय कम हुने उनको भनाई छ । भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनअघिसम्म महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पनि एक वर्षपछि मात्रै १५औं महाधिवेशन गर्ने भनेर भनेको पनि महतले स्मरण गराए । समयमै महाधिवेशन सम्पन्न गर्ने कुरामा महामन्त्रीहरुको क्रियाशिलता र तत्परता नदेखिएको उनको आरोप छ । तर, जेनजी आन्दोलन हुनेबित्तिकै महामन्त्रीद्धयले तत्काल नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हस्ताक्षर अभियान चलाएको उनले सुनाए ।




प्रतिक्रिया