काठमाडौं, २१ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री यादवले तीन जना मन्त्रीसमेत नियुक्ति गरेका छन् । मन्त्रिपरिषद्ले पूर्णता भने विश्वासको मत लिइसकेपछि पाउने बताइएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका नवनियुक्ति मुख्यमन्त्री यादवले जनमत पार्टीका महेशप्रसाद यादवलाई अर्थमन्त्री नियुक्त गरेका छन् । कांग्रेसकै जंगीलाल राय र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन एकीकृत समाजवादी) का कनिस पटेललाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री यादव र मन्त्रीहरुलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई प्रतिपक्षमा रहेको एमालेले पनि विश्वासको मत दिने बताइएको छ ।




प्रतिक्रिया