पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’


काठमाडौँ, २१ मङ्सिर ।  नेपालको पर्यटन क्षेत्रमा क्रियाशील महिलाको साझा संस्था ‘टुरिज्म सिस्टरहुड नेपाल एशोसिएसन’ले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन पहल गरेको छ ।

सन् २०१८ मा स्थापना भएको उक्त एशोसियसनले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धि गर्दै दिगो र जिम्मेवार पर्यटन निर्माण गर्ने काम गर्दै आइरहेको छ । एशोसियसनको सातौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एशोसियसनकी अध्यक्ष जुनु मलेखुले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन एशोसियसनले स्थापनाकालदेखि नै काम गर्दै आइरहेको बताए ।

“पर्यटन क्षेत्रमा लागेका महिलालाई जिम्मेवार बनाउँदै उनीहरुको क्षमता अभिवृद्धि गरी दिगो र जिम्मेवार  पर्यटन निर्माणका क्षेत्रमा एशोसियसन लागेको छ”, उनले भने । पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको उनको भनाइ छ ।

एशोसियसनकी निवर्तमान अध्यक्ष अनुपा बुढाथोकीले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउनका लागि एशोसियसनले महिलालाई निःशुल्क विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताइन् । एशोसियसनले पर्यटन क्षेत्रमा अध्ययन गर्दै गरेका गरिब तथा विपन्न विद्यार्थीलाई पढाइमा सहयोगसमेत गर्दै आएको छ ।

यसबाहेक एशोसियसनले नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा महिला कसरी सुरक्षित रुपमा जान सक्छन् भन्नेबारे विभिन्न समयमा गन्तव्य यात्रासमेत गराउँदै आएको छ । एशोसियसनले गत वर्ष रारामा उक्त भ्रमण गराएको थियो । उक्त भ्रमणको वृत्तचित्र निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसारको कामसमेत अगाडि बढाइएको छ ।

एशोसियसनले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा ‘वेलनेश टुरिज्म’को विकासका लागि निमी वेलनेश सेन्टरको सहकार्यमा एक घण्टाको ‘साउण्ड हेलिङ’ सेसन सञ्चालन गरेको थियो । सात वर्ष पहिले स्थापना भएको उक्त एशोसियशनमा हाल पर्यटन क्षेत्रमा क्रियाशिल झण्डै १०० महिला आबद्ध छन् । रासस