एक्सनमा उत्रिए नवनियुक्त मुख्यमन्त्रीः सरोज यादव नेतृत्वको सरकारले गरेको सबै निर्णय बदर


काठमाडौं, २१ मंसिर । मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६८ (३) बमोजिम नियुक्त भएका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु बदर गरेको छ । नपनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिँदै ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसपछि लगत्तै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मन्त्रिपरिषद्ले गरेका सबै निर्णयहरु बदर गरेको हो ।

नेकपा (एमाले) संसदीय दलका नेता सरोज कुमार यादव गत कात्तिक २३ गते सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सरोज यादव नेतृत्वको उक्त मन्त्रिपरिषद्ले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको थियो । गत मंसिर १५ मा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री यादवलाई दीर्घकालीन असर पर्नेखालका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशसमेतलाई लत्याउँदै तत्कालीन मुख्यमन्त्री यादवले विभिन्न नियुक्ति र कर्मचारी सरुवाको निर्णय गरेका थिए ।

आज बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको छ,‘मिति २०८२/०७/२३ देखि २०८२/०८/१७ गतेसम्मको अवधिमा बसेका मन्त्रिपरिषद् बैठकहरुबाट भएका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवारकाजसँग सम्बन्धित निर्णयहरू बदर गर्ने तथा मिति २०८२/०७/२३ मा गठित मन्त्रिपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयहरूबाट भएका कर्मचारीहरूको सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवारकाजसंग सम्बन्धित सम्पूर्ण निर्णयहरू बदर गर्ने ।’