बुटवलमा औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव


काठमाडौँ, २२ मङ्सिर । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा आगामी पुस ३ गतेदेखि १७ गतेसम्म ‘१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२’ बुटवलमा आयोजना हुने भएको छ ।

रुपन्देही उद्योग सङ्घले आज यहाँ पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । सङ्घका अध्यक्ष तथा महोत्सव मूल समिति संयोजक कृष्णप्रसाद पराजुलीले स्वदेशी उत्पादनको प्रवद्र्धन तथा औद्योगिक सम्भावनाका खोजी गर्ने मुख्य उद्देश्यका साथ यो प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

“स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयाँ प्रविधिको खोजी, कृषिको व्यावसायिकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, कला तथा संस्कृतिको जगेर्नालगायतका उद्देश्य राखेको यो प्रदर्शनी तथा महोत्सव आयोजना गर्न लागिएको हो”, पराजुलीले भने, “स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन हुने यस महोत्सवमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको ‘मेक इन नेपाल स्वदेशी अभियान’ लाई थप प्राथमिकताका साथ अगाडि बढाइनेछ ।”

बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, लत्ताकपडा, छालाजुत्ता, बेकरी, खाद्यान्न, सूचना प्रविधिलगायत क्षेत्रका ५०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । त्यस्तै, प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगितालगायतका प्रतिस्पर्धा र विभिन्न कलाकारका प्रस्तुती रहने जनाइएको छ ।

सङ्घले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको छ । स्वेदशी उत्तपादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यावसायिक अनुभवको आदानप्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ताबिज्ञहरु र सरकारी निकायबीच अन्तरसम्वाद, आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहनलगायतका उद्देश्यले यस्तो प्रदर्शनी आयोजना हुँदै आएको सङ्घले जनाएको छ । रासस