काठमाडौं, २३ मंसिर । निवर्तमान प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । अहिलेसम्म लामिछानेसँग २÷४ पटक जेलमा भेटवार्ता भइसकेको नेता सिंहले बताए । रविमात्रै नभएर बालेन शाह, कुलमान घिसिङलगायतसँग पनि आफ्नो निरन्तर संवाद भइरहेको नेता सिंहले बताए ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘बालेनजीलाई समवेदना दिन आज उहाँको घरमा गएको थिएँ । कुलमानजीसँग पनि भेट भइरहेको छ । रविजीसँग पनि मैले जेलमा २÷४ चोटी भेटेकै छु् ।’
साथै, रास्वपाका सभापति लामिछाने चुनाव भन्दा पहिला नै धरौटीमा छुट्ने उनको दाबी छ । लामिछाने धरौटीमा छुट्ने प्रशस्त आधारहरु रहेको उनको भनाइ छ । आफू अहिले रास्वपामा जाने तयारीमा भने नरहेको उनले बताए । उनले अहिले आफू कुनै पनि पार्टीमा नजाने र स्वतन्त्र रहेको बताए । डा.शेखर कोइराला कांग्रेसको सभापति बनेको खण्डमा त्यतातिर फर्किने सम्भावना चाहिँ बलियो रहेको उनले बताए । ‘म कुनै पनि पार्टीमा जाने तयारीमा छैन । अहिले पनि म स्वतन्त्र छु,’– उनले भने ।
‘शेखर काइराला सभापति बन्नुभयो भने अमरेश कुमार कांग्रेसमा फर्किने हो ?’ भन्ने प्रश्नमा डा.सिंहले भने, ‘म त जन्मजात कांग्रेस छु । मलाई के अप्ठ्यारो भयो र ? कांग्रेस विधिमा नचलेको कारणले, एउटा परिवारको हालिमुहाली भएको कारणले मैले आपत्ति जनाएँ ।’
साथै, यो देशलाई आउने दिनमा नयाँ शक्तिले नेतृत्व गरोस् भन्ने आफ्नो एउटै चाहना रहेको उनले बताए । अब नेतृत्वमा नयाँ अनुहार र भिजन भएको मान्छे आउनुपर्ने उनले बताए । त्यसका लागि आफूले जनताको नजरमा राम्रा रहेका गोपी हमाल, हर्क साम्पाङ, बालेन शाह, रवि लामिछानेलगायतसँग भेटवार्ता गरिरहेको उनले बताए ।




प्रतिक्रिया