काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का नेता देवी सुवेदीले पार्टीको ११औं महाधिवेशनबाट अध्यक्ष बन्नका लागि केपी शर्मा ओलीलाई प्रतिस्पर्धाको जरुरत नै आवश्यक नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यक्षका लागि ईश्वर पोखरेल प्रतिस्पर्धामा आउँदै गर्दा ओलीले पनि नछाड्ने बताएका हुन् ।
‘केपी ओलीलाई एमालेको अध्यक्ष हुनलाई प्रतिस्पर्धा गर्नुपर्छ र ? यो अनौठो कुरा सुन्दैछु मैले । ओलीको विपक्षमा उठ्छु भनेर अहिलेसम्म कसैले घोषणा गरेकै छैन । ईश्वर पोखरेल मैदानमा आउनुहुन्छ भने उहाँ (ओली) पनि त आउनुहुन्छ होला नि त ? उहाँ (ओली) को विरुद्धमा कोही आउँछ भने ओलीले छोड्नुहुन्न,’– उनले भने ।
नेता सुवेदीले ७० वर्षे उमेर हद र दुई कार्यकालको कुरा गर्ने हो भने पोखरेललाई इतर समूहले पार्टी अध्यक्षको रुपमा अगाडि सार्न नहुने बताए । उनले इतर समूहलाई अर्को मान्छे उम्मेदवारको रुपमा अगाडि सार्न आग्रह गरे । एमालेको विधान सम्मेलनले गरेको निर्णयलाई अहिले छरपस्ट गर्नुको कुनै कारण नरहेको उनले बताए ।
नेता सुवेदीले अहिले पार्टी एमाले, नेतृत्व केपी शर्मा ओली, विचार जनताको बहुदलीय जनवाद र चुनाव चिन्ह सूर्यवाहेक अर्को कुनै विकल्प नरहेको बताए । अहिले एमालेको नेतृत्वमा निर्विकल्प ओलीको आवश्यकता रहेको उनको भनाइ छ । ‘नेतृत्व केपी ओली, पार्टी एमाले, विचारको हिसाबले जनताको बहुदलीय जनवाद, चिन्हको हिसाबले सूर्य त्योभन्दा अर्को कुरा केही पनि छैन । देशभरीका एमालेजनहरुले त्यही नै गर्छन्,’– उनले भने ।




प्रतिक्रिया