प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छः प्रधानमन्त्री कार्की


काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताएकी छन् । आज (बुधबार) काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ आफूहरु लागिपरेको बताएकी हुन् । यसबारेमा शिक्षामन्त्री महावीर पुनले शिक्षाविद, विश्वविद्यालयका उपकुलपतिलगायत उच्च नेतृत्व र सरोकारवालाहरुसँग गम्भीर परामर्श र गृहकार्य गरिरहेको पनि उनले बताईन् ।

‘शिक्षामन्त्री महावीर पुनज्यूले शिक्षाविद्, विश्वविद्यालयका उपकुलपति लगायतका उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ। ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ।
यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्नेछ भन्ने हाम्रो विश्वास छ,’– प्रधानमन्त्री कार्कीले भनिन् ।

साथै, नेपालको उच्च शिक्षालाई सुधार गर्न काठमाडौं विश्वविद्यालयले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुसरण गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताईन् । विशेषतः नवप्रवर्तन, प्राज्ञिक दक्षता अभिवृद्धि, नेपालका सन्दर्भमा शिक्षक तथा कर्मचारीलाई तुलनात्मक रूपमा राम्रो पारिश्रमिकजस्ता विषयहरू यस विश्वविद्यालयबाट अरूले सिक्नुपर्ने उनको धारणा छ ।