जेन-जी आन्दोलनमा गोली लागेर मृत्यु भएका युवाहरुको जिम्मा ओलीले लिनैपर्छ, थाहा छैन भनेर उन्मुक्ति पाइँदैनः एमाले उपाध्यक्ष शाक्य (भिडिओसहित)


काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बहुमत छ भन्दैमा केपी शर्मा ओलीले पार्टीको विधान मिच्न नपाउने बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको ११औं महाधिवेशनमा पुरानो विधान ब्युँताएर पदाधिकारीको संख्या बढाउन नसक्ने बताएकी हुन् । उनले जे पायो त्यही गर्ने छुट ओलीलाई नरहेको बताए । विधान महाधिवेशनबाट पारित भएअनुसार जिम्मेवारी बाँडफाँड गरिनुपर्ने उनले बताईन् ।

‘विधान मिच्दै जाने, थिति मिच्दै जाने, नेतृत्वले जे लाग्यो त्यही गर्ने भयो भने त पार्टी कसरी चल्छ त ? त्यसरी चल्दैन नि । आजको सचिवालय बैठकमा त्यो प्रस्ताव आउन सक्छ । त्यो कुनै पनि हालतमा मान्न सकिँदैन । बहुमत र अल्पमतको कुरा होइन । बहुमतबाट पेल्ने र अल्पमतलाई नसुन्ने कुरा हुँदैन,’– उनले भनिन् ।

उपाध्यक्ष शाक्यले पार्टीको ११औं महाधिवेशनबाट ओलीले ससम्मान विदाइ लिनु राम्रो हुने बताईन् । ओलीले ससम्मान विदाइ लिएको खण्डमा जिन्दगीभर हाइहाइ हुने पनि बताईन् । उनले ईश्वर पोखरेल अध्यक्षका लागि अहिले सबैभन्दा योग्य मान्छे रहेको बताईन् । ओलीले फराकिलो मन राखेर पोखरेललाई ससम्मान अध्यक्ष बनाउनु नै उपयुक्त हुने बताईन् ।

जिन्दगीभर एउटै व्यक्तिले पार्टीको नेतृत्व गरेर परिवर्तन सम्भव नरहेको उनले बताईन् । पार्टीमा २ कार्यकाल र ७० वर्षे उमेर हद अतिआवश्यक रहेको उपाध्यक्ष शाक्यको भनाइ छ । पार्टीलाई एउटा व्यक्तिको पकडमा राख्ने कुरा विचार शून्य बनाउनु रहेको उनले बताईन् । पार्टीलाई नीति र विचारबाट चलाउनुपर्ने उपाध्यक्ष शाक्यको भनाइ छ । उनले मेरो मान्छे र मैले भनेको मान्नुपर्छ भन्ने कुरा अहिलेको गणतन्त्रमा नचल्ने बताईन् ।

उपाध्यक्ष शाक्यले अहिले एमालेमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताईन् । उनले ओली पटक–पटक प्रधानमन्त्री भइसकेको, दुई कार्यकाल पार्टीको अध्यक्ष भइसकेको बताउँदै अब पछिल्लो पुस्तालाई पनि अवसर दिनुपर्ने बताईन् । भदौको २३ गतेको नवयुवा पुस्ताको आन्दोलनले पुस्तान्तरणको सन्देश दिएको उनले बताईन् । जेन–जी आन्दोलनको क्रममा युवाहरुको मृत्यु भएको जिम्मा ओलीले लिनुपर्ने र मलाई थाहा छैन भनेर उन्मुक्ति नपाइने उनको भनाइ छ ।

‘गोली चलाएको पनि थाहा छैन, यत्रो केटाकेटी, युवा पुस्ता, स्कुले बालबालिकाको गोली चलेर मृत्यु भएको अवस्थामा राष्ट्रको प्रधानमन्त्री भएको अवस्थामा उहाँले जिम्मा लिनुपर्दैन ? मलाई थाहा छैन भनेर त पाउनुहुन्न नि त । यत्रो सुरक्षा निकाय उहाँकै साथमा छ । सुरक्षा निकायले पनि उहाँलाई पटक–पटक यस्तो छ है स्थिति भन्दा उहाँले सुन्नुभएन । यस्तो भइसकेपछि कसरी नेतृत्व गर्न सक्छ,’– उनले भनिन् ।

उपाध्यक्ष शाक्यले ओलीलाई म विना केही पनि हुँदैन, मैले नै सबै थाम्नुपर्छ भन्ने कुराहरु त्याग्न आग्रह गरिन् । ओलीले उक्त जेन–जी आन्दोलनको क्रममा घटेको घटनाको संवेदनशीलता महसुश गर्ने गर्न नसकेको, छानविन आयोगमा बयान दिन जान्न भनेको उनले बताईन् । उपाध्यक्ष शाक्यले ओली अत्यन्त गलत ढंगले चलिराखेको र उनलाई अबको एमालेको नेतृत्व स्वीकार गर्न नसकिने बताईन् । प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको अवस्था स्मरण गराउँदै उनले ओलीको नेतृत्वमा चुनावमा जान नसकिने बताईन् ।

‘उहाँ गलत ढंगले चलिराख्नुभएको छ । उहाँको गलत सोचहरु विकास भइराखेको छ । अत्यन्तै अराजकता सिर्जना गरिराख्नुभएको छ । यसले राम्रो सन्देश दिइराखेको छैन । अबको नेतृत्व हुँदैहुँदैन । अब चुनावको तिथिमिति तोकिइसक्यो । भैहाल्यो भने त जानुपर्यो, मैले त भनेको छु– उहाँको नेतृत्वमा चुनावमा जान सकिँदैन । जनताले मान्दैनन् नि । अब नेतृत्व परिवर्तन जरुरी छ,’– उनले भनिन् ।