काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले पार्टीका नेता तथा कार्यकर्ताहरुले सभापति शेरबहाद्ुर देउवाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गरेको हेर्न चाहना देखाएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देउवा आफैंले घोषणा नगरे पनि त्यहाँको जनताले उनलाई नै चाहना गरेको बताएका हुन् ।
नेता डा.पोखरेलले आफू यस पटकको प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको बताए । उनले आफूले निर्वाचन जित्ने सुनिश्चितता रहेको पनि दाबी गरे । २०७४ को निर्वाचनमा ३१ हजारभन्दा बढी मत पाएर पराजीत भएको, २०७९ को निर्वाचनमा गठबन्धनको कारण मौका नपाएको उनले बताए । ‘यसपटक पार्टीले जिल्ला (प्युठान) बाट मेरो नाम सिफारिस गरेको छ । म यसपटक निर्वाचनमा प्रतिस्पर्धी हुन्छु । मेरो विजयको लागि पनि ढुक्क छु,’– उनले भने ।
उनले पुस मसान्त अथवा माघको पहिलो हप्तासम्म महाधिवेशन हुने पनि बताए । अहिले क्रियाशील सदस्यता वितरण, नवीकरणलगायतका कामहरु भइरहेको उनले बताए । केन्द्रीय समितिले ल्याएको कार्यतालिका २÷४ दिन तलमाथि भए पनि त्यो भन्दा ढिला नहुने उनले बताए ।
अहिले कांग्रेसका नेताहरुले महाधिवेशनको तयारी थालिसकेको पनि उनले बताए । महाधिवेशन र निर्वाचनको तयारी एकैसाथ चलिरहेको उनको भनाइ छ । लोकतन्त्रमा संसद् जनताको रहने बताउँदै उनले फेरि पनि फर्किएर जनतामा जान आफूहरुलाई कुनै समस्या नरहेको बताए । कांग्रेसले जनतामा जाने निर्णय गरिसकेको र अदालत गएका निर्वतमान सांसदहरु व्यक्तिगत रुपमा गएको उनले बताए । देशको निकास भनेको फागुन २१ गतेका लागि तय भएको निर्वाचन नै रहेको उनले बताए ।
संसद् पुनर्स्थापनको कुरा केही नेताहरुले व्यक्तिगत रुपमा रिट हालेको उनले बताए । देउवा र एमाले अध्यक्ष केपी शर्मा अोलीबीच संसद् पुनर्स्थापना गर्नेबारे सहमति भइसकेको भन्ने कुरामा कुनै आधिकारिकता नरहेको उनले बताए । कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णय तलमाथि नहुने उनले बताए । सभापति, केन्द्रीय सदस्य, महामन्त्रीलगायतले व्यक्तिगत रुपमा बोलेको कुराले कुनै अर्थ नराख्ने उनले बताए । सभापति देउवाले केन्द्रीय समितिमा आफ्नो मन्तव्य राखिसकेको र समितिले पनि निर्णय गरिसकेको बताउँदै उनले अब निर्वाचनबाट विमुख हुन नहुने बताए ।




प्रतिक्रिया