काठमाडौं, २६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अहिलेको अवस्थाको सहज निकास फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन नै रहेको बताएका छन् । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन निर्वाध रुपमा सम्पन्न गर्नुपर्ने बताए । उनले भने, ‘फागुन २१ गतेको लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यक छ ।’
उनले मलुक संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको चरणसम्म आइपुग्नका लागि सहिद र प्रजातन्त्र सेनानीहरुले विगतमा पटक–पटक गरेको कठोर संघर्ष, त्याग र बलिदानको निकै ठूलो महत्व रहेको बताए ।
राष्ट्रपति पौडेलले राजनीतिका लागि पटक–पटक संघर्ष गर्ने दुष्चक्रबाट मुक्त भएर अबको समय आर्थिक विकास र समृद्धिमा केन्द्रीत गर्नुपर्ने बताए । यसका लागि राजनीतिक स्थायित्व र सुशासन पहिला शर्त रहेको पनि उनले बताए ।
भ्रष्टाचारको अन्त्य गरी सुशासनको माध्यमबाट मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए । युवा पुस्ताको चाहना पनि यही नै रहेको राष्ट्रपति पौडेलले बताए ।




प्रतिक्रिया