ओलीले पोखरेलसँग प्रतिस्पर्धा गर्नु उचित हुँदैनः एमाले नेता ढकाल (भिडिओसहित)


काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का नेता विनोद ढकालले पार्टीका कार्यकर्ताहरुको भावना नेतृत्वको परिवर्तनको पक्षमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था हटाइसकेपछि ईश्वर पोखरेलले बाध्य भएर अध्यक्षमा प्रतिस्पर्धा गर्नुपरेको बताए । उनले पोखरेलसँग दुई कार्यकाल अध्यक्ष भइसकेको केपी शर्मा ओलीले प्रतिस्पर्धा नगर्दा नै उचित हुने बताए ।

साथै, उनले ओली र पोखरेलबीच प्रतिस्पर्धा हुँदा पार्टी विभाजन हुन्छ भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । आफूहरुले पार्टीका हरेक महाधिवेशन प्रतिस्पर्धाबाट नै टुङ्ग्याएको बताउँदै उनले पार्टी फुट्ने कुरा महाधिवेशन भन्दा पनि अन्य कुरासँग जोडिएको हुने बताए । जसले जिते पनि पार्टीलाई थप एकीकृत बनाएर लानुपर्ने बताए । आन्तरिक प्रतिस्पर्धालाई हार जितको रुपमा लिन नहुने बताए ।

साथै, उनले हिजोको एमालेको उद्घाटन समारोहलाई हेर्दा पार्टीको नेतृत्व एकपक्षीय जस्तो देखिएको बताए । महाधिवेशनको उद्घटन समारोहले एकताको सन्देश दिनबाट चुकेको उनले बताए । नेतृत्वले अली फराकिलो छाती बनाएर उदार हुनुपर्ने उनले बताए । एक पक्षीय ढंगले नेतृत्वले हिजोको उद्घाटन समारोहलाई अगाडि बढाएको उनले बताए ।