एमालेमा ७० वर्षे उमेरहदको पक्षमा उभिएका उपाध्यक्ष ज्ञवालीले भने, ‘म ७० वर्ष पुगेँ, अब कुनै पनि पदमा उम्मेदवारी दिन्नँ’


काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको जारी ११औं महाधिवेशनमा कुनै पनि पदका लागि उम्मेदवारी नदिने बताएका छन् । आफू ७० वर्ष पुगिसकेको बताउँदै उनले अब कुनै पनि पदमा उम्मेदवारी नदिने बताएका हुन् । उपाध्यक्ष ज्ञवालीसहितका नेताहरु पार्टीभित्र दुई कार्यकाल र ७० वर्ष उमेरहदको पक्षमा उभिँदै आएका थिए ।

आज (आइतबार) भृकुटीमण्डपमा बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले अब आफू चुनावमा भाग नलिने बताए । ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ,’ उनले भने । कुनै पदमा चुनाव नलडे पनि आफू एमालेकै राजनीतिमा सक्रिय रहने उनले बताए ।

यता, केपी शर्मा ओली भने तेस्रो कार्यकाल अध्यक्षमा दोहोरिने तयारीमा छन् । अध्यक्षमा ईश्वर पोखरेल र ओलीबीच प्रतिस्पर्धा हुने चर्चा छ । ओलीलाई नैतिक दवाब सिर्जना गर्न इतर समूहका ७० वर्ष कटेका नेताहरुले चुनाव नलड्ने घोषणा गर्न थालेका हुन् ।