काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) की नेतृ विन्दा पाण्डेले पार्टीको ११औं महाधिवेशनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले उपाध्यक्षमा उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएको बताएकी हुन् । पाण्डेलाई यसअघि एमाले अध्यक्ष केपी शर्मा अोलीले ६ महिनाको लागि निलम्बन गरेका थिए । उनले भनिन्, ‘मैले उपाध्यक्षमा उम्मेदवारी दिन्छु ।’
साथै, उनले एमालेको अध्यक्षका लागि ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने बताईन् । प्रतिस्पर्धा भएकै कबारण एमाले फुट्छ भन्ने हल्लामा कुनै सत्यता नरहेको पनि उनको भनाइ छ । एमाले फुट्ने सम्भावना नै नरहेको उनको भनाइ छ । ‘महाधिवेशन गर्ने र निर्वाचन गर्नेबित्तिकै एमाले फुट्छ भनेर मलजल गर्ने प्रयत्न नै नगर्नुस् । हामी सिद्धान्त र विचारको आधारमा अगाडि बढेका छौं । व्यक्तिगत हिसाबले को कतिखेर बाहिरिन्छ, त्यो भिन्दै कुरा हो । कतिपय साथीहरु गएका छन्, कतिपय आएका छन् नि त । गएकोमात्रै किन हिसाब गरेको ?’ प्रश्न गर्दै उनले भन् ि।
साथै, उनले महाधिवेशनबाट ओलीले अध्यक्ष जितेको खण्डमा एमाले पुरानै अवस्थामा चल्ने पनि बताईन् । आफूहरुको चाहना भनेको स्वच्छ प्रतिस्पर्धाबाट जसले जिते पनि विगतका कमीकमजोरी हटाएर अगाडि बढ्नुपर्छ भन्ने रहेको पनि उनले बताईन् । उनले भनिन्, ‘(ओलीले) जित्नुभयो भने नेकपा (एमाले) अहिले जसरी चलेको छ, त्यसैगरी अगाडि बढ्छ नि । हिजोका कमीकमजोरी हटाएर अब अगाडि बढ्नु्पर्छ । यो बीचमा उहाँ १० वर्षको अवधि अध्यक्ष रहनुभयो । त्यो बीचमा भएको थुप्रै कमीकमजोरी हटाउनुपर्छ । हरेक निश्चित अवधिमा हामीले सिंहवलोकन गरेर जानुपर्छ भनेर मदन कमरेडले भन्नुहुन्थ्यो । यो एउटा नेताले मात्रै जोगाएको पार्टी होइन ।’




प्रतिक्रिया