काठमाडौं, पुस १ । काठमाडौं, पुस १ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शार्मा ओली नेतृत्वको टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।
ओली टिमबाट महासचिवका आकांक्षी रहेका ज्ञवालीले आज फेसबुकमार्फत प्रतिनिधिहरुसँग आफूलाई केन्द्रीय सदस्य पदका लागि मत माग्दै ओली नेतृत्वको टिमलाई विजयी बनाउन आग्रह गरेका हुन् ।
पार्टी अध्यक्ष ओलीले शंकर पोखरेललाई महासचिवमा निरन्तरता दिएर आफ्नो टिमबाट पूर्वउपमहाचिव ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बनाइएपछि रुष्ट उनले उपाध्यक्ष पदमा चुनाव नलड्ने बताउँदै केन्द्रीय सदस्य पदका लागि मत मागेका छन्। उपाध्यक्ष अस्वीकार गरेर सोमबार केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर भृकुटीमण्डपबाट बाहिरिएका ज्ञवालीले आफूसहित ओली टिमका लागि पनि मत मागेका छन्।
उनले लेखेका छन्, ‘नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु। म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु ।यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु।’




प्रतिक्रिया