ओलीले ८० प्रतिशत मत पाएर महाधिवेशन जित्ने आँकलन, त्यसपछिको ‘म्यान अफ द इलेक्सन’ बस्नेत


काठमाडौं, १ पुस । नेकपा (एमाले) का ११औं राष्ट्रिय महाधिवेशन गत मंसिर २७ गतेदेखि जारी रहेको छ । महाधिवेशनले पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटी चुन्ने छ । यसपटकको महाधिवेशनमा अध्यक्षमा केपी शर्मा अ‍ोली र ईश्वर पोखरेलले प्यानल नै खडा गरेर अगाडि बढेका छन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेका महेश बस्नेत भने यसपटकका महाधिवेशन ओलीले र उनको समूहले जित्ने दाबी गर्छन् ।

बस्नेतका अनुसार ओलीले ८० प्रतिशत मत पाएर महाधिवेशनमा जित हाँसिल गर्ने र यदि एमालेमा भूकम्प नै गएको खण्डमा ७० प्रतिशत मत पाउने दाबी गर्छन् । उनले ओलीपछिका ‘म्यान अफ द इलेक्सन’ भएर सचिव पदमा आफूले चुनाव जित्ने पनि दाबी गरे ।

केपी शर्मा ओलीले ८० प्रतिशत मत पाएर जित्नुहुन्छ । त्यो अंक गणित छ । यदि एमालेभित्र रातारात महाभूकम्प गयो भने पनि ७० प्रतिशतले जित्नुहुन्छ । विगतको अनुभव के छ भने–केपी ओलीसँग निकट भएका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका व्यक्तिहरुलाई घेराबन्दी विगतमा पनि भएकै हो । अघिल्लो चुनावमा पनि हामीलाई त्यसैगरी हराए । अनेकखालका शक्ति लागेर । निश्चित रुपमा केपी ओलीलाई हराउन सकिँदैन । त्यसपछिको टार्गेटमा हामी त छौं नै । तर, जतिसुकै टार्गेटमा भए पनि ८० प्रतिशत भएको मान्छे र २० प्रतिशत भएको मान्छे कस्तो हुन्छ भने मानोमा पाथी हाल्दा पोखिन्छ । जतिसुकै टार्गेट गरे पनि महासचिव लगायतका केपी शर्मा ओलीको टिममा उठेका आधिकांशले जित्छन्,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै नेता बस्नेतले भने ।

उनले एमालेका महाधिवेशन प्रतिनिधिहरु सुझबुझ भएका रहेको रहेको उनले बताए । एमालेका महाधिवेशन प्रतिनिधिहरुले अनुहार, गेटअप र मेकअप हेरेर भोट नहाल्ने उनको दाबी छ । उनीहरुले नीति, सिद्धान्त, विचार हेरेर ओलीको सशक्त टिमलाई विजयी गराउने नेता बस्नेतले बताए । ‘केपी ओली पछाडिको ‘म्यान अफ द इलेक्सन’ हुने मान्छे नै महेश बस्नेत जस्तो लाग्छ,’– उनले भने ।