काठमाडौं, २ पुस । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले वर्तमान सकरारको काम फागुन २१ गतेको निर्वाचन सम्पन्न गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताएका छन् । ललितपुर महानगरको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले निर्वाचनको विकल्प नरहेको बताएका हुन् ।
उनले जेन–जीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आमा भन्ने गरेको स्मरण गराउँदै आफ्नी आमाले गराउन लागेको चुनावमा सहयोग गर्न जेन–जी पुस्तालाई आग्रह गरे । उनले पछिल्लो समय केही जेन–जीहरुले चुनाव हुन दिँदैनौं भनिरहेको स्मरण गराउँदै त्यसो भन्न नपाइने बताए । उनले जेन–जी युवाहरु साना–साना रहेको बताउँदै बुद्धि पलाउन आवश्यक रहेको टिप्पणी गरे ।
‘जेन–जीले आमा भन्नुहुन्छ, भनिराखेका पनि छन् । पछिल्लो कालखण्डमा आएर जेन–जीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिराखेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नेपर्छ । जेन–जीले अहिले पछिल्लो कालखण्डमा हामी चुनाव गराउँदैनौं भन्ने किसिमको उद्गार व्यक्त गरेको छ । त्यो गर्न हुँदैन । तसर्थ, जेन–जीका सानातिना भाइबहिनीहरु छन् । अलिकति बुद्धि पलाएको छैन । बुद्धि पलाओस् । उहाँहरुले आफ्नो आमाले गर्न खोज्नुभएको चुनाव सफल गराउनको निमित्त उहाँहरुले सहयोग गर्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया