हाम्रो साहित्य बिस्तारै एआईको दिमागी सट्टाबाजीतिर अघि बढ्दैछ : प्रा.डा. विदुर चालिसे


साहित्य–वार्ता
नामः प्रा.डा. विदुर चालिसे
सेवाः प्राध्यापन, त्रिभुवन विश्वविद्यालय ।
माता÷पिताः ओमकुमारी÷हेमनाथ चालिसे
जन्मस्थानः गोकर्णेश्वर नगरपालिका–९, आरुबारी, काठमाडौँ ।

प्रथम प्रकाशित रचनाः
१. आमा २०३५ (स्वदेश त्रैमासिक) कविता
२. यो गीत त मान्छेले गाउनुपर्छ २०४० (शान्ति अर्धवार्षिक)
३. रवि २०४५ (मिर्मिरे द्वैमासिक)
प्रकाशित कृतिहरूः
१.युग बोल्छ (कवितासङ्ग्रह)– २०४७
२.सिसिफसको श्रापित मांसपिण्ड (लघुकाव्य)– २०५१
३.अभिलेखीय नेपाली क्रिया (अनुसन्धान ग्रन्थ)– २०७०
४.ऐतिहासिक नेपाली अव्यव (अनुसन्धान ग्रन्थ)– २०७०
५.अभिलेखीय नेपाली व्याकरणको इतिहास (अनुसन्धान ग्रन्थ)– २०७४
६.सेनेगल (कवितासङ्ग्रह)– २०७४
७.अभिलेखीय नेपाली नामधातु (अनुसन्धान ग्रन्थ)– २०७४
८.स्मृतिका पहाड (कवितासङ्ग्रह)– २०७५
९.कोशीका उडान (कवितासङ्ग्रह)– २०७५
१०.चियाडमाईको डबली (कवितासङ्ग्रह)– २०७५
११.रातो चामल (लघुकथासङ्ग्रह)– २०७६
१२.जलान (लघुकथासङ्ग्रह)– २०७७
१३.नियात्रामा नौलो आयाम (समालोचना)– २०७७
१४.लघुकथालय (लघुकथा चिन्तन, मनन र लेखन)– २०७९
१५. Holocaust (Katha–kuthungri collection) Translated version–– २०२२
१६. Pseudo (Katha(kuthungri collection) Translated version– २०२२
१७.Kuthungri (Katha–kuthungri collection) Translated version– २०२२
१८.Conflict (Katha–kuthungri collection) Translated version– २०२२
१९.Khalikhalcha (Prose poem collection_ Translated version)– २०२२
२०. Honeymoon of Ghazalists (Prose poem collection) Translated version– २०२२
२१. लघुकथाकल्प (लघुकथन संशक्तिको आधार, आकाङ्क्षा र शक्ति) – २०८०
२२. शताब्दम् महाशक्ति (लघुकथामहासङ्ग्रह)– २०८०
२३. अभिलेखीय नेपाली व्याकरण (अभिलेखमा आधारित प्राचीन तथा मध्यकालीन नेपाली भाषाको व्याकरण) २०८१
२४.एकै वर्ष २५ वटा लघुकथाका पुस्तकको सम्पादन तथा भूमिका लेखन– २०८१
२५. थुप्रै पत्रिका, अनुसन्धानात्मक एवं समालोचनात्मक लेख, कविता र कथा सम्पादन ।
प्रकाशनोन्मुख कृतिः
१. केही लघुकथा सङ्ग्रह
२. केही कवितासङ्ग्रह

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
विक्रम संवत् २०३१ देखि स्थानीय रूपमा सञ्चालन हुने साहित्यिक कार्यक्रममार्फत । जस्तैः आरूबारीको ग्राम निर्माण बन्धु मण्डल क्लबले आयोजना गरेको साहित्यिक कार्यक्रम, चाबहिलको उत्साह पत्रिकाले सञ्चालन गरेको साहित्यिक कार्यक्रम, घुम्ती साहित्यिक कार्यक्रम, बौद्ध पुस्तकालयले सञ्चालन गरेका साहित्यिक कार्यक्रम आदि ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
सानैदेखि रमेश विकलसँगको सङ्गत, भैरव अर्याल, आनन्द भट्ट, श्यामप्रसाद शर्मा, विजय मल्ल, गोविन्द गोठाले, ध्रुवचन्द्र गौतमलगायतसँग सम्पर्क र सम्बन्धका कारण साहित्यमा प्रभावित हुन पुगियो ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
मेरो लेखन क्षेत्र, सिर्जनात्मक क्षेत्रमा कविता र लघुकथामा अत्यन्त प्रखर रूपमा छ भने समालोचनामा पनि त्यत्तिकै अगाडि बढिरहेको छ । साथै भाषा अनुसन्धानका साथै प्राचीन तथा मध्यकालीन नेपाली भाषाको व्याकरणिक स्वरूप तथा शाब्दिक प्रयोजनपरक विशिष्टतामा केन्द्रित विषयमा अनुसन्धानको लामो यात्रा क्रमशः चलिरहेको छ ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
आफूद्वारा अगाडि बढाइएको लेखन प्रक्रियाप्रति अत्यन्त खुसी लाग्छ । आफूले भाषा साहित्य र त्यसमाथि दिएको अनुसन्धानात्मक तथा सिर्जनात्मक योगदानप्रति गर्वसमेत लाग्छ ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
भाषा अनुसन्धानको क्षेत्रमा काम गरिरहेकोले त्यसै विषयका पुस्तकको तयारी हुँदैछन् भने अचेल विशेषतः लघुकथाको साहित्यको विशिष्ट सिर्जनात्मक लेखन तथा लघुकथाका सैद्धान्तिक समालोचनाको बारेमा पुस्तक लेखन तयारी गर्दैछु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य र स्रष्टाप्रति राष्ट्र, समाज अनि समाजको विकासप्रति अन्योन्याश्रित जिम्मेवारीको सम्बन्ध रहन्छ ।

तपाईंको साहित्यिक आदर्श के हो ?
मेरो सिर्जनात्मक साहित्यिक आदर्श प्रगतिशील साहित्यको उन्नयन र विकासमा जोड दिन्छु । अनुसन्धानात्मक आदर्श भने वस्तुसत्य र प्रविधिमैत्री प्रणालीमा आधारित रहेर प्राचीन तथा मध्यकालीन नेपाली भाषाको तथ्य पहिचान गर्नु मेरो अनुसन्धान प्रणालीको अर्काे विशिष्ट आयाम रहेको छ ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

लेखकहरूले स्वतः लेखकीय दायित्व वहन गरेको हुन्छ । तथापि कहिलेकाँहि लेखकले आफ्नो लेखकीय दायित्य नगरेको कुरा पाठकले जब उसका रचना पढेर अनुभूत गर्छन्– तब स्वतः आफैं मूल्याङ्कित हुन्छन् ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
नहुनुपर्ने कारणहरू कुनै छैनन् ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
साहित्य लेखनमा हिजो प्रविधिले खासै सहयोग थिएन । अचेल प्रविधिले लेखनलाई अत्यन्त ठूलो सहयोग गरेको छ । तर स्तरीय साहित्य लेखनको क्षेत्रलाई उचाइमा पु¥याउन भने लेखकको प्रतिभा र सिर्जनात्मक दक्षताले मात्रै मापन गर्न सक्दछ । लेखकमा भएको विशिष्ट ज्ञान, बौद्धिक क्षमता, निरन्तर अध्ययन दक्षता र सिर्जनात्मक विशिष्ट शैलीले निर्धारण गर्छ । तथापि अचेल प्रविधिको कारणले अलि हल्का रूपका खास संरचना र एआईको दिमागी सट्टाबाजीतिर साहित्य बिस्तारै अगाडि बढ्दैछ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
समाजको उत्थानमा अत्यन्त सहयोग पुग्ने विशिष्टखालको तर रोचक प्रस्तुति रहेको साहित्य लेखिनुपर्छ ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
लेखकलाई विशिष्ट घटना र घटनाको अनुभूतिले खासमा प्रेरणा दिन्छ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
खास त्यस्तो छैन । जतिबेला फु¥यो– त्यतिबेला लेख्छु । तर विषयहरू मलाई फुरिरहन्छन् ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
लेख्नका लागि वातावरणको खास त्यस्तो विशिष्ट चाहिन्न । विषय फुरे जस्तोमा पनि लेख्न सकिन्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
अनुभूतिका विशिष्टता मनन गर्ने तथा बुझ्ने र सामान्य नोट गर्ने अनि समय पाउनासाथ लेख्ने ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?
सफल स्रष्टाका आवश्यक गुणहरू निरन्तर अरूलाई पढ्ने, मननयोग्य कुरा अनुभूतिमा लिने, विषयवस्तुको गहिरो निरीक्षण गर्ने र साहित्य सिर्जना कलाको गहिराइमा पु¥याउने अनि आफ्नो विशिष्ट शैलीमा साहित्य सिर्जना गर्दा स्रष्टाका असल गुणका रूपमा लेखकका सिर्जनालाई पाठकले अनुभूत गर्छन् ।

तपाईंलाई कुन साहित्यकारको कृतिले बढी प्रभाव पारेको थियो ?
माक्सिम गोर्की, आन्तोन चेखभ, प्रेमचन्द, अज्ञेय, धर्मवीर भारती, रमेश विकल, भैरव अर्याल, मोहन कोइराला, ईश्वर बल्लभ आदि ।

तपाईंको मुख्य कार्यक्षेत्र कुन र कहाँ थियो ? कहिलेसम्म सेवारत रहनुभयो ?
जीवनको सुरूवातमा वि.सं. २०३३ देखि २०४८ सम्म श्री ५ को सरकार स्वास्थ्य सेवा विभागमा २०४८ देखि २०५१ सम्म ग्राम शिक्षा मन्दिर, कपनमा माध्यमिक तहमा शिक्षक र २०५१ देखि २०७९ सम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत थिएँ ।

तपाईंका कृतिमा पाइने नौला कुरा के हुन् ?
बौद्धिताको विशिष्टता, क्लिष्टताको अभिलेपन, विशिष्ट विषयको उद्घोषणा, नवीन कलात्मक प्रयोग, नयाँ साहित्यिक विधागत चेत तथा विशिष्ट शाब्दिक चयनले सिर्जना सिँगार्नु र प्रस्तुतीकरणमा सजाएका अनुभूति पाठकले पाउनु मेरा कृतिमा पाइने नौला कुराहरू हुन् ।

तपाईंका कृति के/कस्ता भावनाबाट प्रभावित छन् ?
विशेषतः व्यङ्ग्यभावबाट प्रभावित छन् ।

तपाईं कस्तो ज्ञानको पक्षमा हुनुहुन्छ ?
अनुसन्धानमूलक ज्ञानको पक्षमा रहन्छु । तथापि अनुसन्धानमा पनि सत्य त छँदैछ । तथ्यपूर्ण ज्ञानको पक्षमा अधिक उभिन्छु ।

तपाईंका अप्रकाशित कृति पनि छन् कि ?
पुस्तकाकार रूपमा तयार भइसकेका छैनन् । तर तयारीमा चाहिँ छन् ।

तपाईंलाई पाठकहरूले कसरी चिन्न थालेका छन् ?
प्राचीन नेपाली भाषा अनुसन्धाताको प्रेरक व्यक्तित्व र लघुकथाका विशिष्ट लेखकका रूपमा चिनेको देख्छु ।

अझै केही बाँकी भन्नुपर्ने छ कि ?
हाम्रो साहित्य सिर्जना प्रणालीमा परिष्कारको अनुभूति लेखकहरूमा कम देख्छु । अनुसन्धानका क्षेत्रमा अनुसन्धानकर्ताले पकाउनुपर्ने आफ्नो निजी निष्कर्षमा विरोधाभाषपूर्ण तर्कको उपयोग प्रायः गरेको देख्छु । अनुसन्धानकर्ताले तथ्यको पहिचानमा भन्दा सत्यको वरिपरिमात्रै धेरै घुमेको पाउँछु ।