काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेलले गृहमन्त्री भएको बेलामा रवि लामिछानेले भ्रष्टाचारका पुराना फाइलहरु खोलेको कारण उनी थुनामा जानुपरेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेले भ्रष्टाचारको अन्त्य गर्ने उद्घोष गरेकै कारण अहिलेको परिस्थिति आएको बताएका हुन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि दुई पटक गृहमन्त्री बनेका लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा एक वर्षभन्दा बढी थुनामा बसेर केही समयअघि मात्रै बिगो बराबरको रकम धरौटी बुझाएर थुनामुक्त भएका छन् ।
‘सभापति गृहमन्त्री हुँदाखेरी उहाँले भ्रष्टाचारका फाइल खोल्ने उद्घोष गर्नुभयो र प्रयत्न गर्नुभयो । त्यसपछि यो परिस्थिति उहाँले सामना गर्नुपर्ने अवस्था आयो । जनतालाई के विश्वास छ भने रास्वपाले अवसर पायो भने मुलुकलाई परिवर्तन गर्ने सामर्थ्य र शक्ति राख्छ भन्ने जनतामा विश्वास छ,’– उनले भने ।
साथै, उनले जनताले परिवर्तन चाहेको र अबको आसन्न निर्वाचनमा जनताले रास्वपालाई सबैभन्दा ठूलो दल बनाउने विश्वास व्यक्त गरे । उनले जनता आफ्नो अभिमत परिवर्तन गर्ने पक्षमा रहेको पनि दाबी गरे । उनले भने, ‘जनताले परिवर्तन चाहेका छन् । पुराना नेताहरु छान्दा–छान्दा, उनीहरुलाई देवत्वकरण गर्दा–गर्दा हाम्रो अधिकार सबै गुमायौं, केही पाएनौं भन्ने जनताको अभिमत छ । अब उनीहरुले मत परिवर्तन गर्नं खोजिरहेका छन् । नयाँ पार्टीमा मत परिवर्तन गरेर त्यसको निरन्तरता पछाडि हेरौंला भन्ने जनताको मत छ ।’
साथै, नेता पोखरेलले रास्वपाबाट भावी प्रधानमन्त्री रवि लामिछाने नै रहेको बताए । लामिछानेप्रति जनताको भरोसा र विश्वास रहेको उनले बताए । रवि लामिछानेको विकल्पमा अहिले कसैलाई पनि सोच्न नसकिने उनले बताए । ‘हाम्रो पार्टीबाट भावी प्रधानमन्त्री भनेको रवि लामिछाने नै हो । उहाँप्रति नै जनताको विश्वास र भरोसा छ । हाम्रो पार्टी एक नम्बरको पार्टी बन्यो र नेतृत्व गर्ने मौका पायो भने रवि लामिछानेको विकल्पमा कसैलाई सोच्न सकिँदैन,’– उनले भने ।




प्रतिक्रिया