प्रधानमन्त्री कार्कीले सम्पत्ति विवरण गोप्य राखिदिएपछि कुलमान असन्तुष्ट


काठमाडौं, ९ पुस । आफूहरुले समयमै सम्वपत्ति विवरण बुझाए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक नगरिदिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाईँमन्त्री कुलमान घिसिङले असन्तुष्टि जनाएका छन् । आज मन्त्रालयमा एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उठेको प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति विवरण सार्वजनिक नहुनुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दोषी रहेको बताएका हुन् ।

उनले आफूले लामो समयसम्म कर्मचारीको हैसियतमा सम्पत्ति विवरण बुझाउँदै आएको पनि बताए । यो वर्ष मन्त्रिपरिषद्मा सबैले समयभित्रै सम्पत्ति विवरण बुझाए पनि त्यो सार्वजनिक गर्ने काम प्रधानमन्त्री कार्यालयको रहेको उनले बताए ।

मन्त्री घिसिङले आफूहरु पारदर्शिता र सुशासनको पक्षमा कटिवद्ध रहेको पनि बताए । सुशासनको विाषयलाई कठोरताको साथ लागू गरिने पनि उनले बताए । आफूहरु जेन–जी आन्दोलनको जगमा मन्त्री बनेको भन्दै उनले सुशासनको विषयमा कुनै पनि सम्झौता नहुने बताए ।

यो वर्ष क्याबिनेटमा सबैले समयभित्रै सम्पत्ति विवरण बुझाउनु भएको थियो । सार्वजनिक गर्ने प्रधानमन्त्री कार्यालय हो । हामी पारदर्शिता र सुशासनको विषयमा कटिवद्ध छौं । सुशासनको विषय कठोरताको साथ लागू गर्नुपर्छ,’– उनले भने ।