काठमाडौं, ९ पुस । सरकारका मन्त्रीहरुसहित प्रतिनिधिमण्डलले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेको छ । आज (बुधबार) राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगी मन्त्रीहरु जगदीश खरेल, अनिल कुमार सिन्हा र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेको सरकारी टोलीले अनुगमन गरेको हो । सो क्रममा सरकारी टोली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच समसामयिक विषयमा छलफलसमेत भएको बताइएको छ ।
सो क्रममा सरकारका मन्त्रीहरुले निर्वाचनको वातावरण बनाउन र आवश्यक तयारीलाई तीव्रता दिन सरकारले अधिकतम प्रयास गरिरहेको, निर्वाचन आयोग निर्वाचनका लागि तयारी गरिरहेको, भयरहीत वातावरणमा निर्वाचन गर्न सुरक्षा संयन्त्र सक्षम रहेको विषयमा आश्वस्त तुल्याउने प्रयास गरेका थिए ।
सो क्रममा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचन अगावै नवीन समझदारीको फराकिलो राजमार्गमा मुलुकलाई लैजानुपर्ने धारणा सरकारी पक्षलाई सुनाएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।
अध्यक्ष लिङ्देनले प्रजातान्त्रिक दलको रुपमा राप्रपाले चुनावको सदुपयोग गर्ने विषयसमेत उल्लेख गरेको प्रवक्ता श्रेष्ठले बताए । राप्रपाले विदेशमा रहेका नेपाली र अन्तर जिल्लाबाट मतदान गर्न पाउनुपर्ने विषयलाई सरकारले यसै निर्वाचनमा व्यवस्था गर्नुपर्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताइएको छ ।
राप्रपाले विगत लामो समयदेखि दल, सरकार र राजाबीच नवीन समझदारी गरेर राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, नेपाललाई हिन्दु अधिराज्य घोषणा गरिनु्पर्ने, संघीयता खारेज गरिनुपर्ने लगायतको माग उठाउँदै आएको छ ।




प्रतिक्रिया