संसद् पुनर्स्थापनाले राजनीतिक निकास दिन सक्दैन, निर्वाचनमै जानुपर्छः ऋषि धमला


काठमाडौं, ९ पुस । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले मुलुकमा देशलाई हाँक्ने कुसल नेतृत्वको आवश्यकता रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित दलका नेताहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब जनतासँग प्रत्यक्ष सम्बन्ध रहेको नेताको आवश्यकता परेको बताएका हुन् । उनले अब देशलाई भागबण्डा नचाहिएको पनि बताए ।

साथै, धमलाले संसद् पुनर्स्थापनाले संवैधानिक निकास पाए पनि देशले राजनीतिक निकास पाउन नसक्ने बतार्ए । राजनीतिक निकासका लागि सबै दलहरु निर्वाचनमा जानको लागि तयार हुनुपर्ने उनले बताए । ‘देशलाई निकास चाहिएको छ । संसद् पुनर्स्थापनाले संवैधानिक निकास पाउला । तर, राजनीतिक निकास पाउँदैन । संवैधानिक निकास पाउला, संविधानसम्मत सर्वोच्च अदालतले एउटा निर्णय गर्ला । तर, संसद् पुनर्स्थापना राजनीतिक निकास होइन । संसद् पुनर्स्थापना भयो भने एउटा तप्काले मान्दैन । कसरी समस्याको समाधान गर्नुहुन्छ ?’ प्रश्न गर्दै उनले भने ।

वरिष्ठ पत्रकार धमलाले देशमा संकट परेको बेलामा समाधानका लागि आफूले निरन्तर प्रयास गरेको पनि स्मरण गराए । जेन–जी आन्दोलनपछिको अवस्थालाई पनि समान्यीकरण गर्नका लागि आफूले भूमिका निर्वाह गरेको धमलाले बताए । उनले अब सबै पक्ष निर्वाचनमा जानुपर्ने र निर्वाचनमार्फत नै समस्याको समाधान खोजिनुपर्ने बताए ।

‘सबै पक्ष निर्वाचनमा जान तयार हुनुपर्छ । निर्वाचनको माध्यमबाट समस्याको समाधान खोजिनुपर्छ । शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिनुपर्छ,’– उनले भने ।