फागुन २१ पछि सुशीला कार्कीलगायत सरकारमा बसेकाहरुले देश छाडेर भाग्नुपर्ने अवस्था आउने प्रभु साहको चेतावनी


काठमाडौं, ९ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बयान लिनुपर्ने जेन–जी हत्यारा र भ्रष्टाचारीलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको बताएका छन् । आजपाको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री सुशिला कार्कीले जेनजी हत्यारा र भ्रष्टाचारीसँग बसेर चिया संवाद गर्न थालेको बताए ।

‘अन्तरिम सरकार जेनजी हत्याराहरुको सेवामा समर्पित छ । बयान लिनुपर्नेहरुलाई रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ,’ अध्यक्ष साहले भने, ‘जेनजी आन्दोलन दमनकारी (ओली सरकार) र अपहरणकारी (सुशीला सरकार) ले युवाहरुको रगतको अवमूल्यन गरे । आज दुवै चिया चर्चामा व्यस्त हुनुहुन्छ ।’

ओलीको अहंकारको कारण मुलुक खरानी भएको बताउदै उनले ओलीको अझै धाक, धम्की नरोकिएको बताए । सचेत नेपाली जनताले यसलाई नजिकबाट नियाँलिरहेको र आगामी निर्वाचनबाट जवाफ दिने तयारीमा रहेको साहले बताए ।

तर, सुशीला सरकारले चुनाव नगराउने खेलमा लागेको आशंका उनले व्यक्त गरे । सुशील सरकारले यदि चुनाव नगर्ने सोचेको छ भने सरकारमा बसेकाहरुले २१ फागुनपछि देश छोडेर भाग्ने दिन आउने उनको चेतावनी छ ।

‘संसद् पुनःस्थापनाको नाटकमञ्चन बन्द नगरे जनताले प्रतिकार गर्नेछन् । चुनावबाहेक निकासको अर्को बाटो छैन । त्यसैले तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प छैन,’ उनले भने, ‘सरकार आँफै चुनावी वातावरण बनाउने कुरामा असफल भइसक्यो । नसक्ने हो भने हात उठाउन म अनुरोध गर्दछु ।’

वर्तमान सरकारले मुलुकलाई ढुंगे युगमा धकेलेको उनको टिप्पणी छ । ‘सबै देशसँगको सम्बन्ध टुटाएको छ । राजदूतहरु फिर्ता गरेर त्यसको सुरुवात गर्यो,’– उनले भने ।