काठमाडौं, १० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको विकराल समस्याको समाधान निर्वाचन नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चुनावभन्दा अगाडि राजा, राजनीतिक दल, जेन–जीलगायत सबै सर्वपक्षीय सहमतीबाट देशलाई निकास दिन जरुरी रहेको बताएका हुन् । उनले यद्यपि निर्वाचन भइहालेको खण्डमा पनि राप्रपा प्रतिस्पर्धाबाट नभाग्ने बताए । २०८४ मा हुने निर्वाचन ०८२ मा सार्दैमा समस्याको समाधान नहुने उनको भनाइ छ ।
‘राप्रपा प्रजातान्त्रिक पार्टी भएको नाताले निर्वाचनसँग त भाग्दैन । तर, अहिले फागुन २१ गते निर्वाचन भनिएको छ । यो देशको विकराल समस्याको समाधान होइन । २०८४ को चुनाव ०८२ मा गर्दैमा हाम्रा समस्या समाधान हुँदैनन् । त्यसकारणले चुनावभन्दा अगाडि नै देशमा एउटा नवीन समझदारी गर्न उपयुक्त छ । कसैले नहार्ने, देशले जित्ने एउटा समझदारी होस् । यही अवस्थामा गरिने निर्वाचन समस्याको समाधान होइन,’– उनले भने ।
अब कांग्रेस–एमाले सच्चिएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ । कांग्रेस–एमालेले अहिले नै सर्वपक्षीय बैठक बोलाएर संसद् पुनर्स्थापनाको एजेण्डा अगाडि बढाउनुपर्ने र संविधान संशोधन हुने निश्चित भएपछि सबै जना संसद् पुनर्स्थापनाको पक्षमा उभिने उनले बताए ।




प्रतिक्रिया