काठमाडौँ, ११ पुस। रश्मिलाज फेसियल हाउसले आफ्नो चौथो आउटलेटका रूपमा काठमाडौँको हात्तिगौँडा, बुढानीलकण्ठमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। रश्मिलाज फेसियल हाउसको १८औँ वार्षिक उत्सवको अवसर पारेर बिहीबार उक्त शाखा औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले संयुक्त रूपमा रिवन काटेर हात्तिगौँडामा सञ्चालनमा आएको रश्मिलाज फेसियल हाउसको चौथो आउटलेट उद्घाटन गरे।
यो शाखा दुई दशकभन्दा बढी समय अमेरिकामा बसेकी समी रेग्मी अधिकारीको पहलमा सञ्चालनमा ल्याइएको हो। रश्मिलाज फेसियल हाउसकी अध्यक्ष र अग्रज ब्युटिसियन रश्मिला श्रेष्ठ तथा प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ शाखा सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रश्मिला श्रेष्ठले १८ वर्षअघि क्रिसमसकै दिन काठमाडौँको सुनधारास्थित काठमाडौँ मलबाट रश्मिलाज फेसियल हाउसको यात्रा सुरु भएको स्मरण गरिन् । त्यसपछि गोँगबुको बिजी मल र बालाजु बसपार्कस्थित बुद्ध मलमा शाखा विस्तार गरिएको र अब हात्तिगौँडामा चौथो शाखा सञ्चालनमा आएको उनले बताइन् । आगामी दिनमा काठमाडौँ बाहिर र विदेशमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिइन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसबाट आफूले लामो समयदेखि सेवा लिँदै आएको उल्लेख गर्दै नयाँ शाखाको सफलताको शुभकामना दिए ।
अभिनेत्री बेनिशा हमालले काठमाडौँ मलस्थित शाखाबाट सेवा लिँदै आएको अनुभव स्मरण गर्दै चौथो शाखाको उद्घाटनमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । त्यसैगरी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि रश्मिला श्रेष्ठ, प्रकाशकुमार श्रेष्ठ र समी रेग्मी अधिकारीलाई नयाँ शाखाको सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय स्तरको सेवा भएकै कारण आफू लामो समयदेखि रश्मिलाज फेसियल हाउससँग जोडिएको बताइन् ।
कार्यक्रममा समी रेग्मी अधिकारीले अमेरिकाबाट नेपाल फर्किएर स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ हात्तिगौँडामा रश्मिलाज फेसियल हाउसको शाखा विस्तार गरिएको बताइन् ।
१८औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा रश्मिलाज फेसियल हाउसका अघिल्ला तीनवटै शाखामा कार्यरत कर्मचारी, ब्युटिसियन, हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्टलाई सम्मानसमेत गरिएको थियो ।Photo :Badri Thapa











प्रतिक्रिया