काठमाडौँ, ११ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जेनजीका अपेक्षाबमोजिम ज्येष्ठ नागरिकमैत्री सेवा मापदण्ड र गरिमामूलक सेवा प्रवाह आजको आवश्यकता भएको बताएकी छिन् ।
पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भनिन्, “ज्येष्ठ नागरिकको सम्मान र गरिमामा आधारित सेवामा उपेक्षा नभई सम्मान, ज्येष्ठ नागरिकमैत्री सेवा मापदण्ड र गरिमामूलक सेवा प्रवाह आजको आवश्यकता हो ।”
त्यसका लागि अन्तरपुस्ता संवाद, सहकार्य, अनुभव जरुरी रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको सुरुवात सबैको परिवार, समाज, स्थानीय तह, प्रदेश र राष्ट्रिय तहमा हुनुपर्ने बतायन् । ज्येष्ठ नागरिकको सवालमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकार, नागरिक समाज, निजी क्षेत्र, समुदाय, परिवार तथा सरोकारवाला सबैको सहकार्य, साझेदारी र सहउत्तरदायित्व अपरिहार्य रहेको उनको भनाइ छ ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को भावनाअनुरूप नेपालमा पहिलो पटक वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्ता घोषणा गरिएको ऐतिहासिक दिन २०५१ साल पुस ११ गतेलाई सरकारले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो ।
ज्येष्ठ नागरिक ज्ञान, अनुभव र सामाजिक पुँजी भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान, सहभागिता र गरिमामूलक जीवन सुनिश्चित गर्ने राज्यनिर्माण गर्न सबैको साथ सहयोग हुनुपर्नेमा जोड दिइन् ।
मन्त्री श्रेष्ठले पशुपति वृद्धाश्रमको समस्याहरु र आफूले पहिले देखेका समस्याहरु सबै सम्बोधन हुनेगरी सुधारका काम गर्दै वृद्धाश्रमको स्तरोन्नति गर्न पनि मन्त्रालय अघि बढिसकेको पनि बताइन् । उनले भनिन्, “ज्येष्ठ नागरिकको स्वास्थ्यसम्बन्धी समस्या तथा गुनासोहरु सुन्न हामीले विशेष हटलाइन सेवा १११५ को व्यवस्थापन गर्ने प्रक्रिया स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अगाडि बढाइसकेका छौँ र यसमार्फत हामीसमक्ष सिधै आफ्ना स्वास्थ्यसम्बन्धी समस्या र गुनासो राख्न सक्नुहुनेछ ।” रासस




प्रतिक्रिया