प्रा. डा. विदुर चालिसे
सहरबाट भागेर गाउँ/गाउँमा जनमत माग्नका लगि दौडेको चाउरे हिप्पीले अग्लो ठाउँमा रहेको मान्छे देखेर करायो ।
‘तँलाई देशको माया लाग्दैन ?’
जसले यो प्रश्न सोध्यो । त्यसैलाई कष्टपूर्वक बाँचिरहेको सोझो भेडा गोठालोले जवाफ दियो ।
‘देशको माया मलाई लाग्दैन भनेर तैंले कसरी थाहा पाइस् ?’
‘तँलाई देशको माया लाग्दै लाग्दैन । लाग्ने भए किन भेडाहरूको जुलुस निकालिस् त ?’
‘नाइँ ! यो गाउँ हो नि । सहरमा जस्तो त कहाँ गोलभेंडाको जस्तो जुलुस पाइन्छ र ? यो त चरन क्षेत्र हो ।’
‘सहरको भेडा यता ल्याएर साखुल्ले हुँदो रहेछ !’
एउटा छट्टु हिप्पीले गोठालोलाई डर देखाउँदै गयो । अन्यौल र अस्थिरताको बीचमा भयङ्कर आवाजमा देशको अस्मिता बारबार उपभोग गर्ने हिप्पीले भोगवादको जडतासँगै मात्तिएर बोलिरह्यो । आकाशगङ्गाको उडानको छेउमा उसको दम्भको एउटा झूट सपना थियो । हिप्पीले फेरि सोझो भेडा गोठालोलाई प्रश्न तेस्र्यायो ।
‘देशै सकिन्छ ! बचाउनू, नत्र तँ पनि सकिन्छस् !’
मरेको पाठो काखी च्यापेर गोठालोले गगनतर्फ हे¥यो । उसमा कुनै उत्तेजना, आवेश वा दम थिएन । उसले काखीको पाठोलाई एक घुड्को पानी खुवायो । पाठो खुत्रुक्कै म¥यो । उसले देशको चाल पायो अनि डरले काँप्दै भन्यो ।
‘देश नबाँच्ने कुरा तँपाईंलाई कसरी थाहा भो ?’
‘जसरी पनि सकिन्छ, बुझ न !’
‘त्यो भए अनि देश बाँच्नचाहिँ कसरी बाँच्न सक्छ भन् न त !’
‘तँलाई थाहा छैन ? म बाँचेमात्रै देश बाँच्छ नत्र देश मर्छ भनेर !’
बड्ता जान्ने, खुब पढ्ने, अत्यन्त अनुभवी र खेल खेल्न सिपालु हिप्पी र सोझो भेडा गोठालोको बीच भनाभन भयो । होच्याइयो । खसालियो । यसै बीच हिप्पीको उक्त कुराले मलाई मनमा एक प्रश्न उब्ज्यो ।
‘यो त मान्छे हिप्पी होइन रहेछ । यसको वैचारिक धरातल पो हिप्पी रहेछ ।’
त्यसपछि हिप्पीवादका नेपाली भेरिएण्टहरू आंैलामा गन्न थालेँ । गन्दागन्दै आंैलामा अटाएनन्। उनीहरूको वैचारिक हिप्पीवादबारे मनमा अर्काे प्रश्न भेडा गोठालोलाई पनि उब्ज्यो ।
‘के यिनै हिप्पीहरूले बोकेको वैचारिक हिप्पीवादले देश नबच्ने भयो त ?’
उसलाई देशको चिन्ताभन्दा हिप्पीको मरेको वैचारिक धरातलको निकै चिन्ता थियो । त्यसैले उसले भावुक स्वरमा रनबन थर्किने गरी गीत गायो ।
‘गाई त बाँध्यो, ढुङ्ग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन ?’
अन्त्यमा सुइय्य सुस्केरा हाल्यो र मनमनै सम्झ्यो । नजिकै उडेको आगोको ज्वाला देखेर बर्बरायो ।
‘हिप्पीहरूको खरानी !’




प्रतिक्रिया