चितवन १४ पुस । जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताए । उनले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले आहिले बजार मूल्य राम्रो पाएको छ ।
उनले भने, “खेतबाटै बिक्री गर्दा घीउ सिमी र गोलभेँडाको मूल्य राम्रो पाएको छ ।” खेतबाटै बिक्री गर्दा घीउ सिमी १२० देखि १३० र गोलभेँडाप्रति क्रेटको एक हजार ६०० सयदेखि दुई हजार ६०० सम्ममा बिक्री भएको उनले बताए ।
उनले अहिले तीन बिघा क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन् । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका उनी विगतका वर्षको तुलनामा यो वर्ष तरकारीले राम्रो मूल्य पाएको बताउँछन् । तरकारी खेतीमा ग्रेडिङ् गरेर बिक्री गर्न सके मूल्य राम्रो पाउने उनले बताए ।
भरतपुर महानगरपालिका–२१ का शिवराज बराल पनि आँफूले लगाएको तरकारीले मूल्य पाएपछि निकै खुसी छन् । विगत सात वर्षदेखि व्यावसायीक रुपमा तरकारीखेती गर्दै आएका उनले एक बिघा १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । उनले भने, “विगतका वर्षको तुलनामा अहिले तरकारीले मूल्य राम्रो पाएको छ ।” अहिले लौका, काँक्रो, गोलभेँडालगायतले राम्रो मूल्य पाएको जानकारी दिए ।
घिरौला, करेलासमेत बिक्रीका लागि बजार खोज्न जानुपर्ने अवस्था नरहेको उनले बताए । केरुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीले गएको तीन महिनायता किसानले तरकारीको मूल्य राम्रो पाएको बताए । उनले भने, “तीन महिनाअघि राम्रो थिएन । अहिले राम्रो छ । ”बजारको अवस्था हेर्दा फेरि मूल्य ओरालो लाग्ने सङ्केत देखिएको उनले बताए ।
वर्षमा तीन खेती तरकारी लगाउँदा कुनै न कुनै खेतीमा मूल्य नपाउँदा मर्कापर्ने गरेको उनले बताए । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताए ।
जिल्लामा हाल सात हजार ७७ दशमलब ९ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरिँदै आएको छ । असोजमा परेको पानीका कारण अहिले तरकारी उत्पादन कम भएकाले पनि बजार मूल्य पाएको उनले बताए । यहाँको तरकारी विदेशी बजारमासमेत माग हुन थालेको उनले जानकारी दिए । उनले भने, “यहाँको उत्पादन दुबईमासमेत जान थालेको छ ।”कार्यालयले व्यावसायिक तरकारी खेतीमा मागका आधारमा लगानी गर्दै आएको बताए । रासस




प्रतिक्रिया