पूर्व राजा ज्ञानेन्द्रलाई अनावश्यक विवादमा ल्याउन हुँदैनः बाबुराम भट्टराई


काठमाडौं, १५ पुस । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अनावश्यक विवादमा तान्न नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्व राजा ज्ञानेन्द्रलाई अनावश्यक विवादमा ल्याउन नहुने र उनी लोकतान्त्रिक गणतन्त्रमा अडिग भएर अगाडि बढ्नुपर्ने बताएका हुन् । ‘उहाँ (ज्ञानेन्द्र) लाई अनावश्यक विवादमा तान्न पनि हुँदैन । विवादमा ल्याउन पनि हुँदैन र उहाँ आउन पनि हुँदैन । लोकतन्त्रमा, गणतन्त्रमा अडिग भएर जानुपर्छ,’– उनले भने ।

साथै, डा.भट्टराईले राजसंस्था अहिले आवश्यकताको विषय नरहेको बताए । उनले बितेको कुरा फर्किएर नआउने बताउँदै अब नेपालमा पनि राजसंस्था फर्किने सम्भावना नरहेको दाबी गरे । पूर्वराजाहरुको राम्रो भूमिकाको इतिहासले कदर गर्ने बताउँदै डा.भट्टराईले अब लोकतान्त्रिक गणतन्त्रलाई साथ र सहयोग गरेर अगाडि बढ्नु नै उनीहरुको हितमा रहेको बताए । पूर्व राजा ज्ञानेन्द्रलाई डा.भट्टराईले राज्यले दिएको सुविधा उपभोग गरेर सम्मानपूर्वक बस्न सुझाव दिए ।

‘जुन कुराको आवश्यकता नै छैन । यो बहसको विषय बनाउन हुँदैन । बितिसकेको कुरा फर्केर आउँदैन । बगेको खोला फर्किँदैन । ऐतिहासिक ढंगले उहाँहरुले जे भूमिका निर्वाह गर्नुभयो, राम्रो भूमिकाको सधैं इतिहासले कदर गरेकै छ । पृथ्वीनारायण शाहको नेतृत्वमा यत्रो राज्य बन्यो, त्यसलाई त हामीले मानेकै छौं त । अब युग बद्लियो । उहाँ (ज्ञानेन्द्र) ले सम्मानपूर्वक बस्ने, यो लोकतान्त्रिक गणतन्त्रलाई साथ र सहयोग दिने, त्यो नै उहाँहरुको हितमा हुन्छ, म उहाँहरुलाई त्यो नै आग्रह गर्न चाहन्छु,’– उनले भने ।