अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज


नेपालगन्ज, १५ पुस । नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका लागि विशेष प्याकेज घोषणा गरेका छन् ।

खासगरी यहाँ रहेका तारे होटलले ‘क्रिसमस डे’ बाट लागू हुनेगरी र साना होटलले खाना तथा आवासमा छुट दिनेगरी प्याकेज बनाएका हुन् ।

नेपालगञ्जको कारकाँदोमा रहेको तारे होटल सिद्धार्थ भ्यूले ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै आवास तथा खानमा विशेष छुटको घोषणा गरेको छ । होटलका प्रबन्धक बद्री कोइरालाले खानामा १५ प्रतिशत र आवासमा ४० प्रतिशत छुट रहेको जानकारी दिए । उनले भने, “आगन्तुक पाहुनाले कस्तो प्याकेज मन पराउनुहुन्छ । त्यस्तै प्रकारको प्याकेज पाउन सक्नुहुन्छ ।”

सो प्याकेज यही पुस १० देखि १७ गतेसम्म एक साताका लागि रहने कोइरालाको भनाइ छ । प्रबन्धक कोइरालाले बुधबार हुने ‘न्यू इअर इभ’ मा चर्चित गायक प्रकाश सपुतलगायतका कलाकारको प्रस्तुति रहने जानकारी दिए ।

अर्को तारे होटेल स्टार लाइटले पनि ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै छुटको घोषणा गरेको छ । सो कार्यक्रममा प्याकेज अनुसारको छुट रहेको उल्लेख गर्दै आवासमा समेत छुट दिन सकिने जनाएको छ ।

“युवा पुस्तालाई आकर्षण गर्नेगरी प्याकेज बनाएका छौँ,” स्टार लाइट होटेलका अप्रेसन म्यानेजर रचित श्रेष्ठले भने । उनले २०२५ को अन्तिम दिन अर्थात् बुधबार विशेष कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहने बताए ।

होटेल पौवाले अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गर्दै खानामा प्याकेज अनुसार छुट दिने जनाएको छ । पौवाका प्रबन्धक गिरीराज पाण्डेले विशेष आकर्षक प्रस्तुतिसहित सुपथ मूल्यमा खानाको स्टल लगाइने र ग्राहकले आफ्नो क्षमताअनुसार खानामा खर्च गर्ने बताए ।

त्यसैगरी सुनाखरी होटलले ‘न्यू इअर इभ’का लागि खानामा २० प्रतिशत छुट दिने भएको छ । सुनाखरी होटेल तथा रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले दुई दिनका लागि सुप लगायतका केही परिकार निःशुल्कसमेत हुने उल्लेख गरे । यसबाहेक यहाँ रहेका होटलहरु कलपतरु, सिटी प्यालेस, वाटिका, स्नेहा लगायतले बर्सेनि विभिन्न कार्यक्रमसहित ग्राहकलाई खाना तथा अवासमा छुट दिने गरेका छन् । यहाँका तारे होटेलका ग्राहक अधिकांश भारतीय हुने गर्छन् ।

होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, बाँकेका उपाध्यक्ष रेशम पोखरेलले जिल्लामा दर्ता भएका होटेल ६५० र अन्यसहित एक हजार ५०० को हाराहारीमा साना तथा ठूला होटेल भएको जानकारी दिए । रासस