काठमाडौं, १५ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज–जसले प्रधानमन्त्री पद बाँडे पनि कांग्रेस–एमालेबाहेक अरुले सरकार बनाउन नसक्ने बताएका छन् । मदन आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन अघि प्रधानमन्त्री पद विभिन्न व्यक्तिहरूले बाँडेपनि निर्वाचन पछि एमाले वा कांग्रेसले नै सरकार बनाउने बताएका हुन् । ‘कसले–कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ । एमाले–कांग्रेसबाहेक अरूले सरकार बनाउन सम्भव छ र ?’ प्रश्न गर्दै उनले भने ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति बाठै होला भन्ने ठानेको भए पनि निर्णय देख्दा हास्यास्पद लागेको टिप्पणी गरे । ‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ । पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री । यो अस्ती सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो,’– अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन भएको दाबी गर्दै तत्काल पुनर्स्थापना हुनेपर्नेमा जोड दिए । उनले सरकार बनाउने, कसलाई हटाउने, कसलाई राख्ने भन्ने थलो संसद् रहेको बताउँदै असंवैधानिक व्यक्तिले संसद् विघटन गरेर संविधान नै संकटमा पारेको टिप्पणी गरे ।




प्रतिक्रिया