ससुरा समानुपातिक सूचीमा समेटिएको बारे बोले गगन


काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा राख्ने आफ्नो कुनै चाहना नरहेको बताएका छन् । महामन्त्री थापाले केसीलाई आफूले समानुपातिक सूचीमा नराख्न अनुरोध गर्दा पनि राखिएको बताएका हुन् । महामन्त्री थापाको प्रयासमा केसीलाई समानुपातिक सूचीमा राखिएको भन्ने चर्चा सुरु भएपछि उनी यस विषयमा बोलेका हुन् । केसी महामन्त्री थापाका ससुरा हुन् ।

‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छुस यो मेरो चाहनाविपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो,’– उनले भनेका छन् ।

महामन्त्री थापाले आफूहरुबीच आ–आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू रहेको, कहिले मिल्ने र कहिले बाझिने पनि बताएका छन् । कुनै बेला राजनीतिक दृष्टिकोण र प्राथमिकता नमिल्दा एकअर्कासंग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लडेको पनि उनले स्मरण गराएका छन् । यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा आफूहरुबीच मतभिन्नता रहेको पनि उनले उल्लेख गरेका छन् ।