काठमाडौं, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं निवर्तमान प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नागरिक सरकारमा दलका नेता तथा कार्यकर्ता रहन नहुने बताएका हुन् । घिसिङ रास्वपाको उपसभापति बन्ने सहमति भइसकेको छ । सोही प्रसँग उल्लेख गर्दै नेता पराजुलीले प्राविधिक पक्ष टुङ्गिएर घिसिङ रास्वपाको उपसभापति बन्नेबित्तिकै राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘अहिलेसम्म प्राविधिक रुपमा हुनुभएको छैन । जब प्राविधिक रुपमा यो टुङ्गिन्छ, उहाँ (कुलमान) ले राजीनामा दिनुपर्छ । किनकी यो सरकार नागरिक सरकार हो । दलको कार्यकर्ता, दलको सदस्य त्यहाँ रहन पाउँदैन,’– उनले भने ।
उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह रास्वपाको अहिलेका लागि सम्मानित नेता रहेको बताए । सभापति रवि लामिछानेपछि कुलमान घिसिङ, डिपी अर्याल, स्वर्णीम वाग्ले गरी पार्टीमा प्रोटोकल मिलाइएको उनले बताए । उनले रास्वपाका नेतासँग देश बनाउने भिजन रहेको उनले बताए ।
साथै, उनले जनतासँग झुठा नबोल्ने बताउँदै ३४ वर्षसम्म खोक्रो बनाइएको देशलाई १० वर्षमा नै समृद्ध बनाउन नसकिने बताए । उनले आगामी ५ वर्षमा मात्रै फाउन्डेशन तयार गर्न सकिने, १० वर्षमा मध्यम तहको समृद्ध देश बनाउन सकिने र समृद्ध देश बनाउन अझै २० वर्ष लाग्ने उनले बताए ।
नेता पराजुलीले बालेनलाई पार्टीबाट कहिल्यै पनि धोका नहुने बताए । धोकाधडी, छलछाम र अपराधबाहेक केही पनि देख्न नपाइरहेको राजनीतिमा शंका उब्जिनु भने स्वभाविक रहेको उनले बताए । नेता पराजुलीले ७६ जनाले बगाएको रगत सम्झिएर अब मत परिवर्तन गरेर रास्वपालाई बहुमत दिनुपर्ने उनको भनाइ छ । उनले न्यूनतम् १३८ सिट रास्वपालाई प्राप्त भएमा रास्वपाले देशको समृद्ध नेपालको सपना पूरा हुने बताए ।




प्रतिक्रिया