काठमाडौं, १७ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले मधेशमा साझा गठबन्धन बनाएर निर्वाचनमा होमिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै झाले साझा गठबन्धन बनाएर चुनाव लड्नका लागि सबैसँग आह्वान गरिने बताएका हुन् । उनले अहिले विषम परिस्थितिमा लोसपा र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणको निर्णय भएको बताउँदै अब मिलेर अगाडि बढ्ने बताए । उनले अब को अध्यक्ष बन्ने, चुनाव चिन्ह के हुने भन्ने कुरा गौण भइसकेको र एकीकरणको प्रक्रिया निकै अगाडि बढिसकेको बताए ।
साथै, उनले जेन–जी आन्दोलनमा क्रममा भएको विध्वंशमा संलग्नहरुलाई कारबाही गरिनुपर्ने बताए । अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालले विध्वंशमा संलग्नहरुलाई कारबाहीको लागि रोक लगाएर प्रहरीहरुको मनोबलमा गिराएको उनले बताए । उनले गृहमन्त्री अर्याललाई सधैंका लागि गृहमन्त्री नरहिने बताउँदै अपराधमा संलग्न मान्छेहरुलाई कारबाही गर्न माग गरे ।
‘दोषी, अपराधीहरुको पहिचान भएको छ । अपराधीहरुको पहिचान भएको छ । ती सबैलाई समातेर खोरभित्र हाल्नलाई प्रहरीलाई निरुत्साहित गर्ने काम अहिलेको गृहमन्त्रीले गरेको छ । गृहमन्त्रीजीले पनि के बुझ्नुपर्छ भने सधैंको लागि तपाईँ गृहमन्त्री बन्ने होइन । अपराध गर्ने मान्छेहरुलाई सजाय दिनुपर्छ,’– उनले भने ।
जेन–जी आन्दोलनको नाममा उद्योगी, व्यवसायीहरुको अर्बौंको क्षति भएको बताउँदै उनले सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरे । दण्डहीनतालाई प्रश्रय नदिन उनले सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘उद्यमी व्यवसायीहरुको अर्बौंको क्षति भएको छ । निर्दोष मान्छेहरुको घरमा आगो लगाइएको छ । तिनलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ । प्रधानमन्त्रीलाई मैले अनुरोध गर्न चाहन्छु– दण्डहिनतालाई प्रश्रय दिन भएन । अपराधीहरुलाई कारबाही गरिनुपर्छ ।’




प्रतिक्रिया